बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा यही माघ ११ देखि २३ गतेसम्म ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’ सञ्चालन हुने भएको छ ।

 

बिहीबार संघले पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी दिएको हो । पूर्वको व्यापारिक तथा औद्योगिक केन्द्र बिर्तामोडमा १३ दिनसम्म लगातार सञ्चालन हुने महोत्सवको मुख्य विशेषता नेपाललगायत छिमेकी राष्ट्रहरुका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराउने रहेको महोत्सव संयोजक प्रकाश शिवाकोटीले जानकारी दिए ।

 

चार भागमा विभाजन गरिएको महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने महोत्सव सचिव सञ्जीव घिमिरेले बताए । प्रदर्शनीकक्षमा अलगअलग परिसर बनाई अटो मोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटनसम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल रहने शिवकोटीले बताए ।

 

यसैगरी, मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको समेत सहभागिता रहने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिए । चीन र थाइल्यान्डका व्यापारीसँग समेत स्टलबारे कुराकानी भइरहेको उनले बताए ।

 

विशिष्ठ खालका स्टलहरुले सजाइने मेलामा कलाकृत्तियुक्त मुल प्रवेशद्वारको निर्माण गरिनेछ । मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको आकर्षक दैनिक सांगीतिक प्रस्तुति रहनेछ । साथै, विविध जातीय पहिचानको झाँकी र लोकदोहोरी समेत प्रस्तुत हुनेछ । बाल उद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेलहरुका स्टल रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टका साथै जातीय खानपानका विभिन्न स्टलहरु रहनेछ ।

 

महोत्सवमा मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाइफाइ जोन, प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय खानेपानी तथा पार्किङको व्यवस्था हुनेछ । व्यापार प्रवद्र्धनका लागि विभिन्न विषयका सेमिनार हुनेछ भने कृषि उत्पादनको प्रवद्र्धनका लागि माटोरहित खेती प्रविधि लगायतका स्टल हुनेछन् । स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष टेवा पु¥याउने महोत्सवको उद्देश्य रहेको छ ।

 

महोत्सवमा २०० स्टल हुनेछन् । एक करोड ५ लाख रुपैयाँ लागत अनुमान गरिएको महोत्सवमा २० करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने र करिब २ लाख मानिसहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
तीन बिघा तीन कठ्ठा क्षेत्रमा रहने महोत्सव अवलोकनका लागि ५० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट दरको व्यवस्था गरिएको छ । महोत्सवको मुख्य प्रायोजक रमपम चाउचाउ रहेको छ भने सहप्रायोजकमा सहारा नेपाल साकोसलागयतका संस्था रहने छन् ।

 

सुरक्षाका लागि महोत्सव स्थलमा सुरक्षाकर्मीका अतिरिक्त सिसी टिभीबाट २४ घण्टा निगरानी गरिनेछ । संघका बरिष्ठ उपाध्यक्ष तथा महोत्सवका संयोजक शिवाकोटीका अनुसार जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर कोटसम्मको स्टल रहनेछ । ‘बिर्तामोडको सर्वाङ्गीण विकासका लागि पनि महोत्सव लगाइएको हो’, उनले भने ।

 

उनका अनुसार स्टलमा राखिएका सामान बाहिरको मूल्यभन्दा सस्तो हुनेछ । कम्तिमा १० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएर स्टलमा बिक्रीका लागि राख्न अनुरोध गरिएको उनले बताए ।

उत्पादक तथा आमग्राहक वर्गको चाहनाअनुरुप नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै स्थलमा अवलोकन गराउने जमर्को स्वरुप महोत्सव आयोजना गरिएको संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिए । बिर्तामोड क्षेत्रको व्यापारलाई अन्तर्राष्ट्रियस्तरबाट प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनको भनाइ छ ।

 

संघका महासचिव प्रशान्त भण्डारीले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष बलराम कार्की, इभेन्ट म्यानेजर ललित सिंखडालगायतले बोलेका थिए ।महोत्सव बिर्तामोड ५ स्थित धर्मकाँटाको उत्तर मातामन्दिर जाने बाटोका छेउमा हुनेछ ।