पाँचथर । शानदार प्रदर्शन गरेको भारत दार्जीलिङको रोयल एफसी फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडौँलाई २–० गोलले पराजित गर्दै रोयलले स्पष्ट जीत दर्ता गरेको हो । रोेयलका लागि दुवै गोल करण राईले गरेका हुन् ।

खेलको सुरुवातीमै आक्रामक देखिएका रोयलका खेलाडीले अन्तिम समयसम्म ब्वाइज युनियनलाई दबाबमा राख्यो । तीन विदेशी खेलाडीसहित मैदान उत्रिएको ब्वाइज युनियनका खेलाडीले सोचेअनुरुप खेल्न नसक्दा पहिलो चरणबाटै बाहिरिनुु प¥यो ।

रोयलका लागि पहिलो र दोस्रो हाफमा गोल सम्भव भएको हो । उसका लागि करण राईले खेलको १६औँ मिनेट पहिलो गोल गरेका थिए । सिद्धान्त क्षेत्रीको क्रसमा करणले गोल गरेका हुन् । खेलको ७६औँ मिनेटमा पनि सिद्धान्तकै पासमा करणले थप गोल गरेर अग्रता दिलाए । ह्याट्रिक गर्ने अवसर करणले पटक पटक खेर फालेका थिए ।

राम्रो मुभ बनाउन माहिर देखिएका रोयलका खेलाडीले ब्वाइज युनियनको गोलपोस्टमा धेरै आक्रमण गरे पनि थप गोल गर्न सकेनन् । खेलको अन्त्यतिर वान भर्सेज वानमा सिद्धान्तले पाएको बललाई हेड ड्रप गरे पनि ब्वाइज युनियनका गोलरक्षक आकाश रानाभाटले भली गरेर बचाएका थिए । उत्कृष्ट प्रदर्शन गरेका कारण पाँचथरका दर्शकको समर्थन रोयल एफसीमाथि थियो ।

खेलमा दुई गोल गरेका करण राई म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाउन सफल भए । पाँचथर जिल्ला फुटबल संघ र फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिम सहभागी छन् । विजेता टिमले नगद ४ लाख र उपविजेता टिमले नगद २ लाखसहित ट्रफी पाउनेछ । शुक्रबारको खेल झापा ११ एफसी र काठमाडौँको सरस्वती एफसीबीच हुने आयोजकका महासचिव पासाङ तामाङले जानकारी दिए ।