झापा । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका धेरै ठाउँमा वर्षा र हिमपात भइरहेको छ । पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा भएको छ । सबै ठाउँमा रातिदेखि लगातार झरी परिरहेको छ ।

 

आज अझ धेरै र ठूलो वर्षा र हिमपातकोे सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ ।

 

आज राति पनि देशका केही ठाउँमा ठूलो वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

 

मौसमविद्का अनुसार भोलि बेलुकादेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै बाहिरिने सम्भावना छ । पर्सि आइतवारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ ।