भद्रपुर । साविक महेशपुर गाविसलाई कार्यक्षेत्र बनाई २०६१ सालमा साविक महेशपुर–१, हालको भद्रपुर–४ मा स्थापना गरिएको साना किसान कृषि सहकारी संस्थाले १४ औं साधारणसभा बुधबार सम्पन्न गरेको छ ।

महेशपुर लक्ष्मीनगरस्थित चन्द्रमौलेश्वर सोम तीर्थधाम परिसरको सामुदायिक भवनमा संस्थाका अध्यक्ष मदनबहादुर वस्नेतको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरे । संस्थाका प्रवन्धक तीर्थराज ओझाले सञ्चालन र उपाध्यक्ष हस्तकला बेघा वनेमले स्वागत गरेको साधारणसभामा अध्यक्ष वस्नेतले ०७४÷०७५ को संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन अनुसार संस्थाले आ. व. ०७४÷०७५ मा २२ लाख २० हजार ५९५ रुपैयाँ नाफा गरेको छ । १८५ समूहमार्फत ९१७ सदस्य माझ सेवा प्रवाह गर्दै आएको संस्थाले आ. व. ०७४÷०७५ मा ९५ लाख ९७ हजार ८४६ रुपैयाँ आम्दानी गरेको छ भने ७३ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । सो वर्ष संस्थाको शेयर पूँजी ४५ लाख ६६ हजार ३०० पुगेको छ भने १ करोड ६८ लाख ७८ हजार ८२१ रुपैयाँ निक्षेप संकलन र ५ करोड ११ लाख ९० हजार रुपैयाँ लगानी गरिएको । १८५ समूहमा ५७५ महिला र ३२१ जना पुरुष आबद्ध छन् । साना किसान सहकारी संस्थाको तीनपाङ्ग्रे मोडल अनुसार साविक महेशपुरको ९ वटा वडाभित्र, ९ वटा अन्तरसमूह, सञ्चालक समिति र समूहबीच संस्थाको क्रियाकलाप र वित्तीय परिचालन भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार विगत पाँच वर्षदेखि साना किसान विकास बैंक, इजरायली राजदूतावास र साना किसान कृषि सहकारी संस्थाको समन्वयमा सञ्चालन भइरहेको कृषि प्रशिक्षार्थी कार्यक्रमअन्तर्गत सो सहकारी संस्थामार्फत १२ जना विद्यार्थीले इजरायलमा ११ महिने कृषि तालिम लिएर फर्किसकेका छन् भने यस वर्ष पाँचजना प्रशिक्षार्थी अध्ययनरत रहेका छन् । फर्किएकामध्ये केहीले इजरायलमा सिकेको सीप र प्रविधिअनुसार कृषि कर्म गरी स्वरोजगार बनेको प्रवन्धक ओझाले जानकारी दिए ।

२०६२ असार ३१ गते कृषि विकास बंकको साना किसान विकास आयोजनाबाट समुदायमा व्यस्थापन हस्तान्तरण भई शुरु भएको संस्थाले विभिन्न समयमा सामाजिक रचनात्मक गतिविधि पनि सञ्चालन गर्दै आइरहेको अध्यक्ष वस्नेतले जानकारी दिए ।

चौधौं साधारणसभाको अवसरमा संस्थाले दुई अन्तरसमूह, दुई समूह र चारजना ऋणी सदस्यलाई उत्कृष्ट छनोट गरी सम्मान पनि गरेको छ । उत्कृष्ट ऋणी हरिमाया भण्डारी, लोकमाया सुब्बा, चानमनी राजवंशी र दुर्गा बानियाँ, उत्कृष्ट अन्तर समूहमा ६ नं अन्तरसमूहका जात्रु राजवंशी र ७ नं का कृष्ण भण्डारी तथा उत्कृष्ट समूह नं १० की तुलसा भट्टराई र समूह नं ५६ की लक्ष्मी पोखरेललाई सम्मान गरिएको हो ।

प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठ, भद्रपुर वडा नं ४ का वडाध्यक्ष हंशधर राजवंशी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समिति बनियानीका अध्यक्ष नवराज भट्टराई, साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय विर्तामोडका प्रवन्धक सुवास गौतम, नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रविचन्द्र ओझालगायतले उत्कृष्टहरुलाई सम्मानपत्र हस्तारतरण गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले नेपालमा कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिने भन्दै सबै सहकारीहरुले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए ।