भद्रपुर । झापाको भद्रपुरमा शुक्रवारदेखि प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

२९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ ।

वडा नम्बर ३ लाई ७८ रनको दोब्बर स्कोरले पराजित गर्दै वडा नम्बर ६ सजिलै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ६ ले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १५७ रन जोडन सफल भए । १५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ३ ले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ७९ रन मात्र जोडेका थिए ।

वडा नम्बर ६ का तर्फबाट इश्वर हाडाले अर्धसतक पुरा गरेका थिए । उनले ८ चौका र एक छक्का प्रहार गर्दै ५५ रन बनाए । त्यस्तै सोही वडाबाट नविन अग्रवालले ४ चौका प्रहार गर्दै २२ रन, धिरज चौधरीले ४ चौका र एक छक्का प्रहार गर्दै ३५ रन र आर्यन यादव (कालु)ले दुई छक्का र एक चौका प्रहार गर्दै २२ रन बनाए ।

वडा नम्बर ३ का तर्फबाट सुधिर राईले दुई विकेट लिएका थिए, भने अनिश भट्टराई, प्रमोद पाण्डे र सन्तु कार्कीले १-१ विकेट लिए । उता वडा नम्बर ६ को बलिङ्को अगाडि वडा नम्बर ३ का खेलाडी मैदानमा टिक्न सकेन । वडा नम्बर ३ का दुई खेलाडी मात्र दोहोरो रन बनाए । सन्तु कार्कीले एक चौका प्रहार गर्दै २० रन र प्रकाश गुरुङ्गले तीन चौका प्रहार गर्दै १८ रन जोडेका थिए । वडा नम्बर ६ का कप्तान किशोर लामा र सुनिल कामतीले ३÷३ विकेट लिएका थिए, भने नविन अग्रवालले एक विकेट लिए । खेलको म्यान अफ द म्याच वडा नम्बर ६ का कप्तान किशोर लामा घोषित भए । उनलाई नगद र ट्रफि छत्रप्रसाद अधिकारीले प्रदान गरे । शनिवार हुने दोस्रो दिनको खेल वडा नम्बर १ र ९ बीच हुने आयोजक समितिले जनाएको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बरुवालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद बसन्त बाँनियाले ब्याटिङ्ग र प्रदेश सांसद ओमप्रकाश सरावगीले बलिङ्ग गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, पूर्व नगर प्रमुख भारतेन्दुकुमार मल्लिक (जिवु), ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), नेकपाका नेता असारु राजवंशी, झापा उद्योग बाणिन्य संघका अध्यक्ष नवराज पनेरु (राजु) लगायतले मन्तव्य राखेका थिए । बलबस्टर्स क्लवका अध्यक्ष जितेन्द्र शर्मा (जितु)ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन निकाश पाण्डेले गरेका थिए । यता प्रतियोगिताको उद्घाटन अघि आयोजक समितिले भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट झाँकीसहितको प्रभातफेरी निकालेर कार्यक्रम स्थल पुगेका थिए ।

प्रतियोगितामा विजेता टिमलाई नगद ४० हजार र उपविजेता टिमलाई २० हजार नगदसहित शिल्ड तथा मेडल प्रदान गरिने जनाइएको छ । साथै सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजारसहित कपसँगै उत्कृष्ट ब्याटस्म्यान, बलर, फिल्डर, विकेटकिपरलाई पनि पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने र सो रकम भद्रपुर नगरपालिका, ६ नम्बर वडा कार्यालय र विभिन्न दाताबाट संकलन गरिने जनाइएको छ । समापन कार्यक्रममा नगर क्षेत्रका पूर्व खेलाडिहरुलाई पनि सम्मान गरिने आयोजक समितिले जनाएको छ ।