धनगढी  । सुदूर पूर्वको मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ जारी तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा काकरभिट्टाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । काकरभिट्टाका लागि विश्वास श्रेष्ठ र विकास थुलुङले गोल गरे । एपिएफलका लागि युवराज खड्काले गोल गरेका थिए । खेलमा काकरभिट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

काकरभिट्टाले अब सेमिफाइनलमा च्यासल युथ क्लब र रुस्लान थ्रीस्टार क्लबबीचको बिजतोसँग माघ २ गते भिड्नेछ । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।