बिर्तामोड, माघ ११ । आज शुक्रबारबाट सुरु हुने बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको मुख्य आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइएको छ ।

बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंको पहलमा ल्याइएको हेलिकप्टर बिर्तामोड महोत्सव अवधिभरि झापामा रहनेछ । प्रसाईंले महोत्सवलाई थप उचाइ दिन हेलिकप्टर ल्याएको बताए ।

यसैबीच, हेलिकप्टरमा कन्या राखेर पुष्पवृष्टी गराउँदै महोत्सव उद्घाटन गर्ने आयोजक समितिको तयारी छ । तीनवटा प्याकेजका रुपमा हेलिकप्टर सञ्चालन गरिने प्रसाईंले जानकारी दिए । प्रसाईं बिर्तामोडमा रहेको सानो संसार हाउजिङ लगायतका व्यावसायिक प्रतिष्ठानसँग आवद्ध छन् ।

उनका अनुसार ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिनेछ । १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइने उनले बताए । आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथिभरादेवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेज बनाएको छ । सो हेलिकप्टरमा एकपटकमा ६ जना चढ्न मिल्नेछ ।

महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्नेछन् । महोत्सवमा २ लाखभन्दा बढी मानिस सहभागी भई अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

आयोजक समितिका अनुसार नेपाललगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहनेछ ।