झापा । माघ तेस्रो साता झापाको अर्जुनधारा ९ मा सञ्चालन हुने सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको विजेताले एक लाख एक हजार पाउने भएको छ ।

‘सहिदहरुको सम्मान, महिला खेलाडीलाई प्रोत्साहन’ भन्ने नाराका साथ ४६औँ सुखानी स्मृति दिवसको अवसरमा प्रदेश एकस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सात जिल्लाका ८ टिम सहभागी हुने जानकारी दियो । गोल्डकपका संयोजक तथा प्रदेश सांसद बृख प्रधानका अनुसार उपविजेताले नगद ५१ हजारसहित ट्रफी पाउनेछ ।

प्रत्येक खेलको वुमन अफ दी म्याचले नगद २ हजार, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट फरवार्डलाई नगद ३ हजार प्रदान गरिनेछ । वुमन अफ दी टुर्नामेन्टले नगद ५ पाउनेछ ।

माघ १८ देखि २५ गतेसम्म नमूना सामुदायिक वनको खेल मैदानमा सञ्चालन हुने गोल्डकपमा झापाका दुई र इलाम, उदयपुर, मोरङ, सुनसरी, धनकुटा तथा पाँचथर र ताप्लेजुङको संयुक्त टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने सुखानी सहिद स्मृति उद्यान व्यवस्थापन समितिका अध्यक्ष टंकनाथ बरालले बताए ।

सात लाख ८४ हजार खर्च हुने गोल्डकपको प्रथम पुरस्कार अर्जुनधारा र दोस्रो पुरस्कार बिर्तामोड नगरपालिकाले प्रदान गर्ने भएको छ । यसैबीच, फागुन २१ गते हाफ म्याराथन प्रतियोगिता र अन्तर क्याम्पसस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिने अध्यक्ष बरालले जानकारी दिए ।