बिर्तामोड । सोचेभन्दा राम्रो ढंगले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन भइरहेको आयोजकले जनाएको छ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघअध्यक्ष कुमार भट्टराईका अनुसार महोत्सव उद्घाटनका दिन उल्लेख्य उपस्थिति नभए पनि त्यसपछिका दिनमा किनमेल गर्नेहरुको घुइँचो बढेको हो ।

‘सुरुका दिनमा सोचेजस्तो उपस्थिति भएन, भोलिपल्टदेखि संख्या बढेको बढ्यै छ,’ बिर्तामोड उद्योग वाणिज्य सघका उपाध्यक्ष नारायण चिमरियाले भने, ‘यसरी नै संख्या बढ्दै जाने हो भने हामी लक्ष्यमा पुग्नेछौँ ।’ मेलामा नयाँ–नयाँ सामाग्री पाइएका कारण सर्वसाधारणको आकर्षण बढेको उनको भनाइ छ ।

‘महोत्सवमा लेदरका आइटमहरु खोज्दै आउनेहरु पनि हुनुहुन्छ’, संघका अर्का उपाध्यक्ष राजु न्यौपानेले भने, ‘वाणिज्य संघले धेरै ठूलो नाफाको उद्देश्य राखेर होइन, पर्यटन प्रबद्र्धन गर्न र व्यापारीलाई उत्साह दिन महोत्सव आयोजना गरेको हो ।’ आदिवासी जनजातिको स्टलले मेलालाई अझ आकर्षक बनाएको आयोजकको भनाइ छ । यस्ता स्टल हेर्न, फोटो खिच्न र रम्न आउनेहरुको संख्या पनि उत्तिकै छ । बिर्तामोड–५ का डम्बर विमलीले बिर्तामोड महोत्सव राम्रो र व्यवस्थित भएको प्रतिक्रिया दिए । बजारभाउभन्दा सस्तो र गुणस्तरीय सामाग्री किन्न पाइएको उनको भनाइ छ ।

महोत्सवस्थलमा राखिएको बिर्तामोडस्थित अलस्टा अटोबोबाइल्सको स्टलबाट मंगलबार टाटा नेक्सनको गाडी बिक्री भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र नेपाली कांग्रेसका नेता देउमान थेबेले गाडी खरिदकर्ता डा. सुदन शर्मालाई चाबी हस्तान्तरण गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघको भ्रातृ संगठन महिला उद्यमी समूहले राखेको स्टलमा सेलरोटी खानेहरुको पनि घुइँचो छ ।
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । साँझमा ताराप्रकाश लिम्बूको विशेष प्रस्तुति रहने महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए ।

महोत्सवको स्वास्थ्य व्यवस्थापन उपसमितिले स्थानीय संघ–संस्था, स्वास्थ्य संस्था तथा अस्पतालको सहयोगमा विभिन्न कार्यक्रम गरिरहेको छ ।
लायन्स क्लब अफ बिर्तामोडको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मेला अवधिभर रक्तदान कार्यक्रम भइरहेको छ ।

लायन्स क्लब अफ बिर्तामोडले मेलामा निःशुल्क एम्बुलेन्स सेवा पनि दिइरहेको क्लबका सचिब लायन पुष्कर निरौलाले बताए । उनका अनुसार अहिलेसम्म ६१ जनाले रक्तदान गरिसकेका छन् । मेलामै लायन्स क्लबले एकजना अपांगता भएका व्यक्तिलाई निःशुल्क ह्वीलचियर दिने कार्यक्रम रहेको क्लबका अध्यक्ष लायन गौरीशंकर गुप्ताले जानकारी दिए ।

वीरता जेसीजले आयोजना गरेको स्वास्थ्य शिविरमा ८० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएको वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष दिवाकरलाल चौधरीले जानकारी दिए । उच्च रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य जाँच भइरहेको वीरता जेसीजका स्वास्थ्य संयोजक सुरेश खतिवडाले बताए । उनका अनुसार महोत्सवमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान गर्नेहरुका लागि प्रवेश निःशुल्क गरिएको जनाइएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव शुक्रबारदेखि सुरु भएको हो । महोत्सवमा २ सय १० वटा स्टल रहेका छन् । महोत्सवमा टिकटको समेत व्यवस्था गरिएको छ । हालसम्म २२ हजार जनाले टिकट काटेर महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।

महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । महोत्सवमा २ लाखभन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए ।