बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियसम्मका उत्पादन किन्न आउनेको भीड बढेको छ । स्थानीयस्तरमा उत्पादन हुने चिया, कोदो, फापरदेखि विदेशमा उत्पादित छालाका ज्याकेटसम्म किन्नेको भीड बढेको हो ।

महोत्सवमा विभिन्न कलाकृतीका सामाग्री, खेल सामाग्री, घरायसी प्रयोजनका सामाग्री तथा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई चाहिने सम्पूर्ण सामाग्री राखिएको छ । बिर्तामोडस्थित हल्दिबारी चिया प्याकेजिङ उद्योगले महोत्सवको एउटा स्टलमा विभिन्न साइजका चियाका प्याकेट बिक्री गर्दै आएको छ । स्टलमा १५ ग्रामदेखि एक किलोसम्मको चियाको प्याकेट पाइने हल्दिबारी चियाका एरिया सेल्स अफिसर जयनारायण चौधरीले बताए ।

मुलुकको पुरानो तथा चर्चित पूजा साबुनको स्टलसमेत महोत्सवमा राखिएको छ । बिर्तामोडमै डिलरसमेत रहेको पूजा साबुनको बिक्री महोत्सवबाट बढेको स्टलका भीम चौधरीले बताए । ‘सोचेअनुरुपकै बिक्री हुँदैछ, पूजा साबुन देख्नेबित्तिकै खुशी भएर किन्न आउनेहरु पनि हुनुहुन्छ,’ स्टलकी रञ्जिता लिम्बूले भनिन् ।

महोत्सवमा बिर्तामोडस्थित महिला उद्यमी संघ नेपालले स्थानीयस्तरका अग्र्यानिक उत्पादनहरु राखेको छ । कोदो, फापर, मस्यौरा, तोरीको तेल, ढाकाका उत्पादन, मकैको चामल, गुन्द्रुकलगायतका सामाग्री राखिएको महिला उद्यमी संघ नेपालकी अध्यक्ष गोमा भट्टराईले बताइन् । ‘पोखराबाट मकैको ठेट्ना मगाएर बेच्यौँ, त्यो चाहिँ साह्रै छिटो बिकिसक्यो,’ उनले भनिन्, ‘फेरि अरु मगाएका छौँ ।’ स्टलबाट मकैको चामल, पिठो, फापर बढी बिक्ने गरेको उनको भनाइ छ । आफूहरुले व्यापारभन्दा पनि प्रचारको उद्देश्यले महोत्सवमा स्टल राखेको अध्यक्ष भट्टराईले बताइन् ।

महोत्सवमा पाकिस्तान, बंगलादेश र भारतका उत्पादन किन्न आउनेहरु पनि छन् । पाकिस्तानका स्टलहरुमा छालाका ज्याकेट, पर्स, बेल्ट लगायत पाइन्छ । पर्स बढी बिक्ने गरेको स्टलकी कविता तामाङले जानकारी दिइन् । उनका अनुसार पाकिस्तानको यो स्टलमा १० देखि ३० हजार रुपैयाँसम्मका ज्याकेट पाइन्छ । पाकिस्तानकै अर्को स्टलमा लङ कोट र सर्ट कोटहरु राखिएको छ । यस्ता कोट किन्न युवाहरु बढी आउने गरेको स्टलकी इन्दिरा नेपालको भनाइ छ ।

पाल्पाली ढाकाको स्टलले समेत महोत्सवमा आउनेहरुको ध्यान तानेको छ । पाल्पा तानसेनकी पविसरा रजालीले सञ्चालनमा ल्याएको संघर्ष ढाका उद्योगको स्टलमा किनमेल गर्न आउनेहरु घटेका छैनन् । स्टलमा पाल्पाली ढाकाका उत्पादनहरु पछ्यौरा, झोला, टोपी, पर्स, मोबाइल कभर, मास्क, बच्चाका लागि दौरा सुरुवाल, पेन्सिल राख्ने पर्स लगायत पाइने रजालीले बताइन् । ‘ढाका टोपी र लेडिज ब्याग बढी बिक्री हुन्छ,’ उनले भनिन्, ‘यी सबै सामाग्री जाडोमा बिक्ने हुन्, झापामा खासै जाडो छैन तर पनि बिक्री राम्रो छ ।’

बिहीबार प्रमोद खरेल आउँदै
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम सञ्चालन भइरहेको छ । बिहीबार बिर्तामोडस्थित बालमिकी स्कूलका विद्यार्थीको सांगीतिक प्रस्तुति रहनेछ । बिहीबार नै स्थानीय कलाकार राजु अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । साँझमा चर्चित गायक प्रमोद खरेलको विशेष प्रस्तुति रहने महोत्सवका साँस्कृतिक समिति संयोजक श्याम खड्गीले जानकारी दिए । बुधबार दिउँसो कोहेडका विद्यार्थी तथा स्थानीय कलाकार प्रितम र प्रिसकिलाको सांगीतिक प्रस्तुति रहेको थियो । बुधबार साँझ ताराप्रकाश लिम्बूले स्टेज तताएका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित महोत्सव शुक्रबारदेखि सुरु भएको हो । महोत्सवमा २ सय १० वटा स्टल रहेका छन् । महोत्सवमा टिकटको समेत व्यवस्था गरिएको छ । हालसम्म ४५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेको आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले जानकारी दिए ।

महोत्सवस्थलमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत सञ्चालन भइरहेको छ । महोत्सवमा २ लाखभन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिव घिमिरेले बताए । महोत्सव २३ माघसम्म सञ्चालन हुने महोत्सव आयोजक समितिका सचिब सञ्जिब घिमिरेले बताए ।

दीप प्रज्ज्वलन
सहिद दिवसका अवसरमा वीरता जेसीजले बुधबार साँझ दिप प्रज्ज्वलन कार्यक्रम गरेको छ । वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशका अध्यक्ष नरेन्द्र खड्काको प्रमुख आतिथ्यमा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको वीरता जेसीजका महासचिब कुशल खतिवडाले जानकारी दिए । दीप प्रज्ज्वलन कार्यक्रममा सयौँको सहभागिता थियो ।