बिर्तामोड, झापा । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् ।

११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढा–टाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट महोत्सव अवलोकन तथा किनमेलका लागि आएका युवराज उप्रेतीले महोत्सवमा धेरै खालका उत्पादन सजाएर राखिएकाले निकै आफूलाई उपयोगी लागेको बताए ।

महोत्सवको स्टलमा ढाका टोपी किन्दै गर्दा भेटिएका उप्रतीले भने, ‘यस्तो महोत्सवले झापाको शानलाई अझ माथि पु¥याउँछ ।’ राजधानीबाट आफन्तकहाँ झापा आएकी प्रतिमा लामिछानेले बिर्तामोड महोत्सव उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् । महोत्सवमा आफूले रोटेपिङको मजा लिनुका साथै सेलरोटीको स्वाद चाखेको उनले बताइन् ।

निःशुल्क ह्वीलचियर प्रदान
यसैबिच लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले महोत्सवस्थलबाट आइतबार अपांगता भएका एकजनालाई ह्वीलचियर वितरण गरेको छ । लायन्स क्लब अफ बिर्तामोडमार्फत् उक्त ह्वीलचियर लखनपुरका ५० वर्षीय इश्वरचन्द शहनीलाई प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर अनन्तप्रसाद भेटुवालले बताए ।

अपांगता भएका व्यक्तिलाई दिनका लागि लायन्स क्लबलाई अमेरिकाको टेक्ससबाट १८२ वटा ह्वस्लचियर प्राप्त भएको उनको भनाइ छ । सोही अवसरमा डिस्ट्रिक गभर्नर भेटुवालले छालादानसम्बन्धी सचेतना प्रदान गरेका थिए । महोत्सवस्थलमा आइतबार एकैदिन २५ जनाले छाला दान गर्ने फारम भरेका छन् ।