बिर्तामोड  । अस्पतालको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै आक्रोशित समूहले बिर्तामोडको बिर्ता सीटी हस्पिटलमा आइतबार राति

लगभग १० वजे तोडफोड गरेको छ ।

मेचीनगर ४ चारआलीका २ वर्ष ५ महिनाका नावालक जोनित राजवंशीको मृत्यु भएपछि आक्रोसित आफन्त र गाउँलेले अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोड गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न एक सेल अँश्रु ग्याँस प्रहार र लाठी चार्ज गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी प्रमुख एसपी भिम ढकालले जानकारी दिए ।

झाडा पखलाबाट विरामी भएका नावालक जेनितको उपचारका लागि साँझ लगभग ७ वजे अस्पताल पुर्याइएको थियो । आकस्मिक कक्षमा नर्सले इन्जेक्शन दिएको केही समय पछि नै नावालक जेनितको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

नावालकको मृत्यु भए पछि भेला भएका आफन्त र गाउँलेले लगभग १० वजेको समयमा अस्पतालको आकस्मिक कक्ष तोडफोड गरेका थिए । भिडले अस्पताल तोडफोड गर्न थाले पछि अन्य बिरामी र कुरुवाको भागाभाग भएको थियो । प्रहरीले मौकैमा भिडलाई नियन्त्रण गर्न अँश्रु ग्याँस र लाठी चार्च गर्दा अस्पतालको थप क्षति हुन नपाएको एसपी ढकालले बताए ।

अस्पतालमा भएको तोडफोड र नावालकको मृत्युका सम्बन्धमा पीडित, जनप्रतिनिधि र अस्पताल प्रसाशन बीच छलफलको तयारी भइरहेको सांसद धर्मशीला चापागाईले जानकारी दिइन् ।