अर्जुनधारा, झापा । झापाको अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय सुखानी सहिद स्मृति गोल्डकप महिला फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बसाहा क्लब उदयपुर बाहिरिएको छ ।

कर्णसिंह सोनाम स्मृति स्पोर्टिङ क्लब ताप्लेजुङले २–० गोलले उदयपुरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा सोमबार सम्पन्न खेलमा उदयपुरका लागि सुष्मा खातीले ७औं मिनेटमा र दोस्रो गोल अनुष्का शेर्पाले ३३औं मिनेटमा गोल गरेका थिए ।

खेलको वूमन अफ दी म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भएकी थिइन् । उनलाई त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्काले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।

मंगलबारको पहिलो सेमिफाइनल खेल पारिजात महिला फुटबल क्लब झापा र माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजारसहित ट्रफी पाउनेछ ।