बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट बनाउन महिलाको ठूलो भमिका रहेको आयोजकले जनाएको छ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार महोत्सवमा ५५ प्रतिशतभन्दा बढी महिला अवलोकनकर्ता आएका छन् ।

महोत्सव स्थलभित्रका महिला उद्यमीहरु हरेक दिन १५ घण्टाभन्दा बढी खट्ने गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । बाहिरबाट आएका स्टलहरुमा पनि अधिकांश कर्मचारी महिला नै रहेकोमा उनले खुशी व्यक्त गरे । महोत्सवस्थलमा रहेका आदिबासी जनजातीका स्टलमा समेत महिलाको उल्लेख्य उपस्थिति छ ।

‘अटोमोबाइल्सका स्टलमा पनि महिलाहरु नै बढी छन्, हरेक साँझ आउने राष्ट्रिय कलाकारहरुमा पनि महिलाको संख्या बढी छ,’ बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पावर्ता खरेल विमलीले भनिन्, ‘महोत्सवस्थलभित्र खानपिनका स्टलमा महिलाकै संख्या बढी छ ।’

बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले पाकिस्तान, बंगलादेश, भारत लगायत मुलुकका स्टलले महोत्सवको रौनक बढेको बताए । वाणिज्य संघको टिमवर्कका कारण महोत्सव सफल भएको उनको भनाइ थियो ।

२ सय १० वटा स्टल रहेको महोत्सव २३ माघसम्म चल्नेछ । हालसम्म ७५ हजार जनाले टिकट काटेर महोत्सव अवलोकन गरेको महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालले बताए ।

महोत्सवस्थलमा सोमबार वीरता लेडी जेसीजको आयोजनामा ‘उद्योग व्यवसायमा महिलाको उपस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष सुरु भुर्तेल खनालको अध्यक्षता तथा संविधानसभा सदस्य शुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा महिला उद्यमीहरुको उल्लेख्य उपस्थिति थियो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले महिलाहरु आयआर्जनको बाटोमा नलाग्दा घरेलु हिंशा बढिरहेको बताए । विकसित मुलुकका व्यापार व्यवसाय महिलाले नै सम्हाल्ने गरेको उनले सुनाए । संविधानसभा सदस्य शिवाकोटीले नेपालका महिलाले अठोट गरेका हरेक कामले सफलता पाएको स्मरण गरे । उद्यमशील महिलाहरुले युवालाई उद्यम दिएर विदेश पलायन हुनबाट रोक्न निकै मेहनत गरेको उनको भनाइ थियो ।

संविधानले नै महिलालाई धेरै अधिकार दिएको बताउँदै शिवाकोटीले भने, ‘महिला सभासदकै कारण महिलाले यति धेरै अधिकार पाएका हुन् ।’ व्यक्तिगत आयआर्जनमा लाग्न उनले महिलाहरुलाई आग्रह गरे ।

अन्तरक्रियामा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले महिला उद्यमीहरु बोल्न नहिच्किचाई अघि बढ्नुपर्ने बताए । व्यवसायमा महिलाको पहुँच बढाउने तथा भावना समेट्ने बाटोमा बिर्तामोड उदोग वाणिज्य संघ लागेको उनको भनाइ थियो । ‘हामीले महिला उद्यमीको व्यक्तित्व विकासमा थुप्रै कार्यक्रम गरेका छौँ,’ भट्टराईले भने, ‘महिला उद्यमी संघ नै गठन गरेर तालिमसमेत दियौँ ।’

अन्तरक्रियामा सहभागी वक्ताहरुले उद्यम नगरी महिला अघि बढ्न नसक्ने धारणा राखेका थिए । नेतृत्वमा पुगेका महिला उद्यमीहरु पनि सही बाटोमा हिँड्नुपर्ने उनीहरुको भनाइ थियो । अन्तरक्रियामा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटी, समुन्नत नेपालकी अधिवक्ता कोपिला बस्नेत, वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष नैनकला भट्टराई, सतासी मौरीपालन समूहकी व्यवस्थापक देवी दाहाल, सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सरस्वती सिटौला, महिला उद्यमी संघकी अध्यक्ष गोमा भट्टराई लगायतले आफ्ना धारणा राखेका थिए । अन्तरक्रियाको सहजीकरण पत्रकार केशव भट्टराईले गरेका थिए ।

जेसीज आस्था वाचन कल्पना दाहाल र स्वागत हिमादेवी पौडेलले गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिब सुस्मा भण्डारीले गरेकी थिइन् ।