0 Shares

बिर्तामोड । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा जुम्लाको मार्सी चामल किन्न आउनेको संख्या उल्लेख्य पाइएको छ ।

महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांश सर्वसाधारण मार्सी चामलको स्टल खोज्दै पुग्ने गरेका छन् ।

महोत्सवस्थलमा जुम्ला बजारबाट ल्याइएको मार्सी चामलको स्टल राखिएको छ । स्टलमा बसेकी शान्ति न्यौपानेका अनुसार राजधानीस्थित हिमाली प्रोडक्ट टेडिङ सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर सप्लाइ गरिरहेको छ ।

हाल देशैभर मार्सी चामलको माग उच्च रहेकाले हरेक ठाउँमा लाग्ने महोत्सवमा यसको स्टल राख्ने गरिएको स्टलकी गंगादेवी राउतले जानकारी दिइन् ।

बिर्तामोड महोत्सवबाट मात्र ९ क्वीन्टल मार्सी चामल बिक्री भएको छ । स्टलबाट २ लाख ५२ हजार रुपैयाँको मार्सी चालम बिक्री भएको न्यौपानेको भनाइ छ ।

‘पहिले मार्सी चामल चिन्नेहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो,’ उनले भनिन्, ‘उहाँले केपी ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’ दुर्गा प्रसाईंलाई भेट्न र सम्मान गर्न मन लागेको स्टलका राउत र न्यौपानेले बताए ।

बिर्तामोड महोत्सवबाट आफूहरु सन्तुष्ट रहेको उनीहरुले प्रतिक्रिया दिए । स्टलबाट दिनमा ५० देखि ६० जनासम्मले मार्सी चामल किनेर लैजाने गरेको बताइएको छ । एकजनाले ३० केजीसम्म खरिद गरेको राउतले बताइन् ।

‘दुर्गाले प्रधानमन्त्रीलाई खुवाएको चामल कहाँ पाइन्छ भन्दै सोध्न आउँछन्,’ उनले सुनाइन् । मार्सी चामल मिलमा नकुटेर ढिकीमा कुटेका कारण पौष्टिक तत्व बढी पाइने बताइएको छ ।