झापा । ११ माघबाट जारी बिर्तामोड महोत्सव आज (बुधबार) समापन हुँदैछ । एक भव्य कार्यक्रमको आयोजना गरी महोत्सव समापन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघको तयारी छ ।

महोत्सवले बिर्तामोडको परिचयलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा जोड्न निकै बल पु¥याएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । महोत्सवभर २२ करोडको कारोबार अनुमान गरिएको उनको भनाइ छ । महोत्सवभर माया र हौसला प्रदान गर्नेहरुलाई प्रशंसापत्र प्रदान गरिने उनले जानकारी दिए ।

व्यवसायिक तथा सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्था र आदिबासी जनजातीलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।

महोत्सवबाट पूर्वको प्रमुख व्यापारिक सहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने आफूहरुको लक्ष्य पूरा भएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

घरेलु उत्पादनका उपभोग्य सामाग्रीदेखि भारत, बंगलादेश र पाकिस्तानका स्तरीय उत्पादनहरु एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनले बताए ।

महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार मंगलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर महोत्सवको अवलोकन गरेका छन् । विगतका महोत्सवहरुको तुलनामा बिर्तामोड महोत्सव स्तरीय बनेको उनले बताए ।

महोत्सव समापनका दिन बुधबार साँझ लाहुरेको विशेष सांगीतिक प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक श्याम खड्गीले जानकारी दिए ।