बिर्तामोड । मग मग झापा गोल्डकपको उद्घाटन खेलमा झापा ११ एफसी र पोखराको सहारा क्लबले जीत दर्ता गर्ने बिश्वासका साथ मैदान प्रवेश गर्ने बताएका छन् ।

आयोजकका तर्फबाट शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिम क्याप्टेन र कोचले त्यस्तो दाबी गरेका हुन् । झापा ११ का कोच प्रवेश कटुवालले पूर्ण अपेक्षाका साथ तयारी गरेको बताए ।

झापाले यस सिजनमा फिदिम गोल्डकपमा जीत दर्ता गरेको छ भने अन्य दुई प्रतियोगितामा हार व्यहोरेको छ । कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गर्ने झापाका लागि विशाल राई ए र दिलेन लोक्तामलगायत पुराना खेलाडी छन् भने अन्य नयाँ खेलाडी रहेको कोच कटुवालले जानकारी दिए ।

सहाराका क्याप्टेन मानबहादुर तामाङले झापासँगको भेटमा आशा व्यक्त गरे । ‘मोफसलको उत्कृष्ट टिम झापा भएकाले रेस्पेक्ट गर्छु’, उनले भने । तर, उसैको घरेलु मैदानमा हराउन सहजरुपमा नलिएको पनि उनले स्पष्ट पारे ।

बुढासुब्बा गोल्डकप र पोखरामा आयोजित आहारारा गोल्डकपमा हार व्यहोरेर झापा खेल्न आएको सहारामा फ्रेस खेलाडी भएकाले जीत निकाल्ने उनको दाबी छ ।

यसअघि एकपटक भेट भएको दुई टोलीबीच यो दोस्रो भेट हो । कटारी गोल्डकपमा भेट हुँदा १–० को नतिजामा झापाले जीत निकालेको थियो ।

पोखरेली कोच प्रल्हाद हिराचनले झापालीसँगको भिडन्त विशेष महत्वका साथ हेरिएको बताए । ‘उसैको घरेलु मैदानमा उसैसँग भिड्न पाउँदा खुसी पनि लागेको छ’, उनले भने ।

‘ओपनिङमात्र होइन, टुर्नामेन्ट नै हाम्रो लागि महत्वपूर्ण छ’, झापाली कप्तान कर्ण लिम्बूले भने । ९० मिनेटभित्रै जित्ने दाबी गरेका उनले झापाको ‘सेट टिम’ पहिलो हतियार भएको दाबी गरे । भर्खरै लिग खेलेकाले पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने उनको भनाइ थियो ।
कार्यक्रममा म्याच कमिस्नार केशवराज दाहालले दुवै टिमलाई जीतको शुभकामना दिएका थिए ।

झापा गोल्डकपको चौथो संस्करणमा हङकङसहित १० टिम सहभागी छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार पाउनेछ ।