झापा । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लब जारी चौथौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहिवार सम्पन्न प्रतिस्पर्धात्मक अन्तिम क्वार्टरफाइनल खेलमा दाउफिन्सले पहिलो हाफ र दोस्रो हाफमा एकएक गोल गरेको थियो । डिबक्समा दाउफिन्सका मेस्सोउलिए ओलोमो लाई रुपन्देहीका डिफेन्डर पेपीले लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए । खेलको ४०औँ मिनेटमा सोही अवसरलाई सदुपयोग गर्दै दाउफिन्सका पेट्गाले बललाई जाली चुमाउँदै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ४० औं मिनेटमा दाउफिन्सका मेस्सोउलिए ओलोमाले गोल गर्दै टिमको जित शुनिश्चित गरेका थिए । उनले डिबन्स एरिया नजिकैबाट गरेको प्रहारले गोल पोष्टको दिशा पाएको थियो । दाउफिन्सले अब सेमिफाइनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा म्यान अफ दी म्याच दाफिन्सका मेस्सोउलिए ओलोमा घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । शुक्रवार पहिलो सेमिफाइनल खेल आयोजक झापा ११ र थ्रीस्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।