शनिश्चरे । झापाको अर्जुनधारामा आजदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । अर्जुनधारा १ नम्बर वडाले उद्घाटन खेलमा विजयी सुरुवात गरेको छ ।

 

अर्जुनधारा ९ को नमुना खेलमैदानमा भएको खेलमा ७ नम्बर वडालाई २१ गोलअन्तरले पराजित गर्दै १ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको हो । १ नम्बर वडाका लागि मनोज राई र बादल राईले गोल गरे भने ७ नम्बर वडाका लागि सञ्जय भण्डारीले गोल गरेका हुन् ।

 

खेलको प्लेयर अफ दी म्याच १ नम्बर वडाका बादल राई भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए । उनलाई नगर प्रमुख बलदेवसिंह गोम्देन, १ नम्बर वडाध्यक्ष उपेन्द्र बस्नेत, ७ नम्बर वडाध्यक्ष गोविन्द खतिवडा, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल र सचिव खगेन्द्र लिङदेनले पुरस्कार प्रदान गरेका थिए ।

 

नगर प्रमुख गोम्देनले उद्घाटन गरेको प्रतियोगितामा ११ वटा वडाको सहभागिता रहेको छ । शुक्रबार वडा नम्बर १० र ११ बीच खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी पाउने छ भने विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।