सुरुङ्गा । पालिकास्तरीय फुटबलमा गौरादह नगरपालिकामाथि गोलवर्षा गर्दै अर्जुनधारा नगरपालिकाले कनकाई कपको आठौँ संस्करणमा विजयी सुरुवात गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो खेलमा अर्जुनधाराले ७-० गोलको फराकिलो अन्तरबाट जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
अर्जुनधाराका जितमा निखिल तामाङ एक्लैले ४ गोल गरे । बच्चन लिम्बू, राजेश दाहाल र निशान बस्नेतको नाममा समान १-१ गोल रह्यो । ह्याट्रिकसहित ४ गोल गरेर उत्कृष्ट प्रदर्शन गरेका निखिल खेलको ‘प्लेयर अफ दि म्याच’ भए । उनले नगद २ हजार १ सय पुरस्कार पाए ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक कनकाई नगरपालिकाले गौरीगञ्ज गाउँपालिकालाई २-१ गोलअन्तरले पराजित गरेको थियो । आज सोमबार हल्दिबारी गाउँपालिकाले बिर्तामोड नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा झापाका १२ वटा पालिकाले सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख २० हजार प्राप्त गर्ने छ भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।