झापा । जारी चौथो झापा गोल्डकपमा आज आयोजक झापा ११ एफसी र थ्री स्टार फुटबल  क्लब  आमनेसामने हुँदैछन् । विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ः३० बजेपछि हुने प्रतिस्पर्धामा के झापाले थ्रीस्टारलाई रोक्ला ? गतवर्ष पनि सेमिफाइनल खेलमै झापा र थ्रीस्टारको भिडन्त भएको थियो । जसमा झापाले बाजी मारेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गर्ने झापाका लागि विशाल राई ए, देवेन्द्र तामाङ, पुजन उपरकोटी, खमिरगिल्सन कन्दङ्वा र दिलेन लोक्तामलगायत पुराना खेलाडी छन् । तीन विदेशी खेलाडीसहित मैदान उत्र्ने झापालाई घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहनेछ  । त्यस्तै  थ्री स्टार क्लब पनि  राष्ट्रिय टोलीका खेलाडीहरुका  साथ मैदान उत्र्ने तयारीमा छ ।

ए डिभिजन लिगका  खेलाडीहरु समेत रहेका यी दुई टोलीबीचको खेल निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।  तीन विभागीय टोलीसहित १० टिमको सहभागीता रहेको जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजारसहित ट्रफी पाउनेछन् । फाइनल खेल आगामी सोमबार हुनेछ ।