इलाम । पूर्वी पहाडको प्रतिष्ठित फुटबल प्रतियोगिता माइभ्याली अन्र्तराष्ट्रिय आमन्त्रण गोल्डकपको पाँचौ संस्करण आजदेखि इलाममा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक माइभ्याली एफसी र दार्जिलिङ युनाइटेड भिड्दैछन् ।

प्रतियोगिताको सवै तयारी पूरा भइसकेको आयोजक माइभ्याली फुटवल क्लबले जनाएको छ । इलाम सदरमुकामस्थित टुडिखेलमा सञ्चालन हुने प्रतियोगिताका लागि करिव १० हजार दर्शक अट्ने अस्थाई बाँसको प्याराफीट निर्माण गरिएको छ । यस्तै, मैदानको काम पनि सकिएको छ । प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार जित्नेछन् ।

२०७१ सालदेखि सुरु भएको यो प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लबसहित पहिलो संस्करणको विजेता त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, मेची नेत्रालय झापा, हिमालयन शेर्पा, दाउफिन्स क्लव क्याम्रुन, नेप्लिज फुटवल एकाडेमी हङकङ, दार्जिलिङ युनाइटेड एकाडेमी र आयोजक माइभ्याली फुटवल एफसीले प्रतिष्पर्धा गर्दै छन् ।

प्रतियोगिताको फाइनल खेल आगामी चैत ५ गते हुनेछ ।