0 Shares

झापा । चौथो संस्करणको मगमग झापा गोल्डकपको उपाधिका लागि घरेलु टोली झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो पटक सोमबार आमने–सामने हुँदैछन् ।

आयोजक टोली मगमग झापा–११ यसअघिका तीनवटै संस्करणमा झापा गोल्डकपको उपविजेता हो । आर्मीले भने पहिलो र तेस्रो संस्करणको झापा गोल्डकपको उपाधि चुमेको थियो । यसअघि दुईवटा संस्करणमा आर्मीसँग ब्यहोरेको हारको बदला लिने लक्ष्यका साथ झापाली टोली मैदान उत्रनेछ । झापालाई घरेलु दर्शकको समेत बलियो साथ रहनेछ । आर्मी भने झापालाई उसकै भूमिमा तेस्रो पटक हराउने दाउमा छ ।

यो संस्करणको झापा गोल्डकपमा सहारा पोखरा फुटबल क्लब, हङकङ नेप्लिज एकाडेमी र थ्री स्टार क्लबलाई पराजित गर्दै झापा–११ ले फाइनलसम्मको यात्रा तय गरेको हो । सोझै क्वार्टरफानलबाट प्रवेश पाएको आर्मीले भने एपीएफ र क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई पाखा लगाउँदै उपाधिनजिक पुगेको हो ।

चार वर्षयता बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा झापा र आर्मी दुईपटक जम्काभेट भइसकेका छन् । दुईपटक नै आर्मीले बाजी मा¥यो । सोमबार हुने तेस्रो भिडन्तमा भने घरेलु दर्शकलाई निराश नबनाउने आफूहरुको लक्ष्य रहेको झापा–११ का प्रशिक्षक प्रवेश कटुवाल बताउँछन् ।

‘यसअघिका तीनवटा संस्करणमा पनि हाम्रो क्षमताले गर्दा नै फाइनलसम्म पुगेका हौँ, तर तीनपटक नै उपविजेतामा सीमित हुनुप¥यो,’ झापाका प्रशिक्षक कटुवाल भन्छन्, ‘यसपटक टिम निकै बलियो छ, हामी उपाधि रक्षा गर्ने दाउमा छौँ ।’ तर, आफूहरुको स्ट्राइकिङमा समस्या रहेको उनले स्वीकार गरे । झापाको डिफेन्स र मिडफिल्ड बलियो देखिए पनि स्ट्राइकरहरु चल्न सकेका छैनन् । नियमित कप्तान कर्ण लिम्बूको घुँडामा समस्या रहेका कारण यसअघिका हरेक खेलमा उनले पूरै ९० मिनेट मैदानमा बिताएनन् । झापाली प्रशिक्षक कटुवालले विदेशी खेलाडी फ्रान्सिसलाई स्ट्राइकिङमा राखेका छन् । तर, उनी निकै अल्छी देखिएको कटुवालले बताए ।

झापाका कप्तान कर्ण लिम्बूले भने घरेलु मैदानमा खेल्दा प्रेसर नहुने बताए । ‘होम ग्राउण्डमा दर्शकको क्राउड हुँदा झन् बढी जोश बढ्छ,’ उनले भने । तर, चोटका कारण कर्णले फाइनल खेल्ने या नखेल्ने तय भइनसकेको प्रशिक्षक कटुवालले बताए ।

झापाली मैदानसँग परिचित आर्मीले यो पटक पनि उपाधि उचाल्ने दाबी गरेको छ । ‘मेहनतको प्रतिफलस्वरुप फाइनल पुगेका छौँ,’ आर्मीका कप्तान भरत खवास भन्छन्, ‘झापाली मैदान र माटोले हामीलाई चिनिसक्यो, यहाँ उपस्थित हुने दशौँ हजार दर्शकको भीड हाम्रा लागि ठूलो कुरा हो ।’

ट्रफी उचाल्नैका लागि झापा गोल्डकपमा सहभागी भएको बताएका भरतले झापा राम्रो र बलियो टिम भएको प्रतिक्रिया दिए । झापाबाट खेल्ने विदेशी खेलाडी पनि उत्कृष्ट रहेको उनी बताउँछन् । ‘पाएका अवसरहरु सदुपयोग गर्न सक्यौँ भने हामी जित्छौँ,’ भरतले भने, ‘फिजिकल फिटनेश र आक्रामक शैली नै हाम्रो गहना हो ।’

आर्मीका प्रशिक्षक चुनबहादुर थापाका अनुसार २३ वर्षमूनिको क्लोज क्याम्पमा आर्मीका तीनजना खेलाडी गएका छन् । झापा गोल्डकपकै सेमिफाइनल खेल्दा एकजना खेलाडी घाइते भएर शल्यक्रिया गरिएको छ । ‘तर, पनि हाम्रा खेलाडी उत्कृष्ट छन्, टिममा कुनै असर परेको छैन,’ उनले भने ।

२७ फागुनसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजन झापाकै मगमग चाउचाउले गरेको छ ।