झापा । चौथो झापा गोल्डकपको उपाधिका लागि आज आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल दिउँसो २ बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

झापा गोल्डकपको सबै संस्करणको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको झापा यस पटक उपाधि रक्षा गर्न फरक रणनीतिका साथ तयार रहेको बताइएको छ । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधि रक्षा गर्न सकेको छैन ।

झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले यस पटक जसरी पनि उपाधि जित्ने दाउँमा रहेको बताए । ‘यो पटक हाम्रो टिम स्ट्रोङ छ’ उनले भने, ‘यस पटक अघिल्ला बर्षहरुको खेलको पनि समिक्षा गरेका छौँ, हामी यो पटक उपाधि जित्न लागि परेका छौँ ।’ त्यस्तै झापाका कप्तान कर्ण लिम्बुले यो पटक उपाधि उचाल्न आफुहरु मन र जोसले फाइनल खेल्ने बताए ।

यता आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरेपनि टिम उपाधि जित्न तयार रहेको दाबी गरे । आर्मीका क्याप्टेन भरत खवासले झापा ११ राम्रो टिम रहेकाले उपाधिको लागी कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको बताए । ‘झापा राम्रो टिम छ, उसको घरेलु मैदानमा फाइनल खेल्न हामीलाई त्यती सहज छैन’ उनले भने, ‘जित्ने चान्स् फिप्टिफिप्टी छ, पाएको अवसर सदुपयोग ग¥यौँ भने हामी जित्छौँ ।’

दर्शकको भरपुर समर्थन पाउदै आएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्र्ने तयारीमा छ । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित मैदान उत्रदैछ ।

झापाले सहारा एफसी पोखरा, हङकङ नेप्लिज एकाडेमी र थ्री स्टार क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै आर्मीले शसस्त्र प्रहरीको एपीएफ क्लब र क्यामरुनको दाउफिन्स एफसीलाई हराउँदै उपाधि होडमा पुगेको हो ।

१० टिमले सहभागीता जनाएका प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वाधिक गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि एक थान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।