बिराटनगर । आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै शुखद सुरुवात गरेको हो । नेपालको जीतमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे ।

नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो । १६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् ।

एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् । उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् ।

त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।

खेलअवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।