वीरगञ्ज । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरेका छन् ।

उनीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि छन् । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । आइतबार साँझ ७ः३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गरेका थिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गरेका थिए । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी नराख्ने बताए । रासस