काठमाडौँ । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

बेलुकातिर पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले बताएकी छन् ।

विशेष गरि तराईका क्षेत्रमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने मौसमविदको भनाई छ ।

आइतबार बेलुका चलेको हावाको गति कम्तिमा ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्डको रहेको जनाइएको छ । नजिकै मौसम पूर्वानुमान स्टेशनको अभाव तथा सुक्ष्म अध्ययन गर्ने प्रविधिको अभावका कारण पूर्वानुमान गर्न कठिन भएको मौसमविदको भनाई छ ।

जनशक्ति र प्रविधिको व्यवस्था गर्न सकिएमा यस्ता खालका विपदको पूर्वानुमान गर्न सकिने उनीहरुले बताएका छन् । आइतबार बेलुका आएको हावाहुरीका कारण बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो ।