काँकरभिट्टा । चैत २८ गतेदेखि हुने भनिएको मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण दुई साता पछि सारिएको छ ।

आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण वैशाख १२ गतेदेखि गोल्डकप हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेनटरका अध्यक्ष मिनबहादुर बस्नेतले राष्ट्रिय खेलकुदमा अधिकांश खेलाडी सहभागी हुने हुँदा टीमले समय दिन नसक्दा गोल्डकपको मिति परिवर्तन गर्नुपरेको बताए ।

१० टीम सहभागी हुने गोल्डकपको फाइनल वैशाख २१ गते हुनेछ । ‘प्रतियोगिताका लागि सबै तयारी पूरा गरे पनि राष्ट्रिय खेलकुदकै कारण मिति सारिएको हो’, उनले भने, ‘सहभागी टीम फेरबल छैन ।’ उनका अनुसार सबै टीमको टुंगो लागिसकेको छ । सचिवालयले आधिकारिकताको काम गरिरहेको उनले बताए ।

टिकट बिक्रीबाट ११ लाखदेखि १५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको आयोजकले यसपटक दर्शकका लागि थप प्यारापिट निर्माण गरेको जनाएको छ । यसपटक ३ हजारदेखि ४ हजार दर्शक अट्ने क्षमताको बाँसको प्यारापिट बनाइएको उनले बताए । यसअघि ८१ लाख खर्च हुने अनुमान गरिएकोमा मिति परिवर्तन हुँदा आयोजकले बढीमा ९० लाख खर्च लाग्ने पूर्वानुमान गरेको छ । यसपटक आयोजकले मैदानमा पनि डेढ लाख खर्चेर घाँसे मैदान बनाइरहेको छ ।

विजेताले १० लाख १ हजार पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख एक हजार पाउनेछ । त्यस्तै, डिफेन्डर, मिडफिल्ड, राइजिङ प्लेयर, प्रशिक्षकले जनही २१÷२१ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजारसहित गिफ्ट ह्याम्पर पाउने छन् ।

कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका महासचिव सुन्दर बस्नेत, मेचीनगर नगरस्तरीय खेलकुद विकास समितिका संयोजक नविन बराल, गोल्डकपका आर्थिक संयोजक गंगालाल गुरुङलगायतले प्रतियोगिताको बारेमा प्रष्ट पारेका थिए ।