रमेश समदर्शी
झापा । अर्जुनधारा नगरपालिकाले पोलिटेक्निकल इन्स्टिच्यूट निर्माण गर्ने भएको छ ।

अर्जुनधारा ११ स्थित पूर्वपश्चिम राजमार्ग जोडिएको ठाउँमा इन्स्टिच्यूट निर्माण गर्नका लागि नगरको हालै सम्पन्न चौथो नगरसभाले निर्णय गरेको हो । नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख हरिकुमार रानाले इन्स्टिच्यूट निर्माणका लागि निर्णय गरेसँगै माथिल्लो निकायमा पहल पनि थालिसकेको जानकारी दिए ।

उनका अनुसार माथिल्लो निकायबाट इन्स्टिच्यूट निर्माणका बारेमा सकारात्मक जवाफ आएकाले सीटीईभीटीसँग पहल भइसकेको छ । करिब १० विगाहा क्षेत्रफलमा इन्स्टिच्यूट निर्माण हुने बताइएको छ । नगरसभाले विशेष प्रस्ताव पारित गर्दै इन्स्टिच्यूट निर्माण गर्ने निर्णय गरेको हो ।

चैत १९, २० र २२ गते सम्पन्न नगरसभाले ८ वटा योजना संशोधन गरेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । उनका अनुसार बहुवर्षीय योजना सञ्चालनका लागि नगरी नहुने १९ वटा योजना आगामी आवको बजेटबाट भुक्तानी हुनेगरी निर्णय भएको छ । त्यस्तै, वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समन्वय समितिसँग गरिएको मागका बारेमा जानकारी दिँदै उनले ६ वटा भवन बन्ने बताए ।

जिससले ६० र नगरले ४० प्रतिशत लागत व्यहोर्ने गरी १, २, ५, ६, ९ र ११ नम्बर वडा कार्यालयको भवन बन्ने भएको छ । भवन निर्माणका लागि नगरले जग्गा दाताबाट जग्गा पाइसकेको पनि उनले बताए ।

त्यस्तै, १ नम्बर वडामा बिरिङ नदीको कटान रोक्न एउटा ड्याम बनाउन आईईसहित डीपीआर बनाउने र साठीमुरेमा पर्यटकीयस्थल निर्माण गर्न माटो परीक्षण डीपीआर बनाइने भएको छ । उक्त कार्यका लागि बिरिङ नदीको उत्खनन्बाट प्राप्त सञ्चित रकम खर्च गरिने भएको छ ।

नगरको भित्री तथा बाहिरी चक्रपथ निर्माणका लागि बाटो खोल्ने, पुरुवा हाल्ने र ग्राभेल गरिँदा आप्mनै उपकरण प्रयोग गर्ने पनि नगरसभाले पारित गरेको छ । त्यस्तै, शनिश्चरे बजार व्यवस्थापनका लागि सम्बन्धित वडाले प्रक्रिया अघि बढाइसके पनि नगरले जग्गा प्राप्ति ऐन २०३४ अनुरुप काम गर्ने भएको छ ।

‘ऐनअनुसार काम गर्दै जाने हो, सकेसम्म निःशूल्क खोजी गरेर बजारको व्यवस्थापन गरिनेछ’, नगर प्रमुख रानाले भने, ‘बजारको करिब दुई किलोमिटर चारै दिशाभित्र डेढ कठ्ठा जग्गा पाए बजारको व्यवस्थापन गर्न सकिन्छ ।’ व्यवस्थापनकै विकल्पका रुपमा नगरले खाली राखिएको जग्गा अधिग्रहण गर्न पनि सक्ने उनको भनाइ छ ।

स्वास्थ्य चौकी नभएको वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गर्ने सरकारको नीतिअनुरुप ४ नम्बर वडामा ७ नम्बरमा रहेको स्वास्थ्य चौकीबाट कर्मचारी खटाउने तथा निर्माणाधीन रहेको २ र ११ नम्बर वडामा आवश्यक कर्मचारी, उपकरण र फर्निचरको व्यवस्था गर्ने नगरसभाले निर्णय गरेको छ ।

त्यस्तै, नगर प्रमुखको संरक्षकत्वमा नगर युवा समिति, नगर खेलकुद समिति र नगर सांस्कतिक, कला समिति गठन गर्ने पनि नगरसभाले पारित गरेको छ । कार्यक्रममा उपमेयर कमला खतिवडा आचार्यले पनि बोलेकी थिइन् ।