अर्जुनधारा । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्राविधिक तथा सरोकारवालाले अर्जुनधारा नगरभित्रका बासिन्दालाई आपूmले पिउने पानी फिल्टर गर्न सुझाव दिएको छ ।

नगरको सभाहलमा शुक्रबार आयोजित पानीको गुणस्तर निगरानी तथा पानीजन्य रोगहरुको अन्तरक्रियामा सहभागी स्वास्थ्य कार्यालयका प्राविधिक चन्द्रशेखर कुमार यादवले त्यस्तो सुझाव दिएका हुन् । ‘समग्रमा नगरमा उपलब्ध हुने पानी पिउनलाई ठीक छ’, उनले भने । तर, कतिपय ठाउँको पानीमा लेदो देखिएको, मापदण्डअनुसारको मात्रा नभएकाले रोगबाट बच्नका लागि फिल्टर गर्न सुझाव दिइएको हो ।

ट्यूवेलको पानी पिइरहने नगरबासीले फिल्टर गर्नै पर्ने उनको सुझाव छ । चर्पी र ट्यूवेल सँगै भएको अवस्थामा गहिराइ कम्तिमा २५ मिटरको फरक हुनुपर्ने उनले बताए । पानी परीक्षणका क्रममा यहाँको पानीको तापक्रम र अम्लीयपन पनि ठीक रहेको परीक्षण रिपोर्ट आएको उनको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले खानेपानी गुणस्तर प्रमाणिकरणबारे विवरण प्रस्तुत गरेका थिए । उनले पानीको स्रोतहरुको निगरानी, किटाणु, जीवाणुरहित पिउनेयोग्य पानीको परीक्षण गर्नुपर्नेमा जोड दिएका थिए । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतका अनुसार पानीकै कारण डेढ दर्जनभन्दा बढी रोग मानिसमा सर्ने गर्दछ ।

पानीका कारण पोलियो, जण्डिस, झाडापखाला, हात्तीपाइले, अंकुशे जुका, गोलो जुका, नाम्ले, कुपोषण हुने, हैजा, लुतो, रक्तअल्पता, डेंगु, थाइराइड लगायत रोग लाग्ने गरको उनको भनाइ छ ।

नगरका मेयर हरिकुमार रानाले मान्छेको स्वास्थ्यलाई ध्यान नदिई अर्थमात्र हेर्ने अशुद्ध व्यापार गर्नेलाई कानुनी दायरामा ल्याउन पहल गर्ने बताए । खानेपानीले कसरी स्वास्थ्यलाई सहयोग पु¥याउने भन्नेबारे सहभागीले चेतना लिएर जान उनको सुझाव थियो । उपमेयर कमला खतिवडा आचार्यले धाराबाट गड्यौला नै आएको प्रसंग जोड्दै नदेखिने जीवाणु, किटाणु पानीबाट आउने भएकाले प्रयोगमा ल्याइँदै आएको पानीको गुणस्तर परीक्षण गर्न जरुरी ठानेर नगरले कार्यक्रम आयोजना गरेको बताइन् ।

पानी परीक्षणका लागि नगरको चारै दिशाबाट बोरिङ गरिएको, ट्यूवेल, धाराबाट प्रयोगमा ल्याइँदै गरेको पानीको परीक्षण गरिएको थियो । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेललगायत वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।