अर्जुनधारा, झापा । अर्जुनधारा नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा सञ्चालन भएको छ दिवसीय दुग्ध पदार्थ विविधिकरण तालिममा सहभागीमध्ये परिश्रमी १४ जनालाई डेरी स्टल सञ्चालनका लागि सामग्री दिइने भएको छ ।

नगर उपप्रमुख कमला खतिवडा आचार्यको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा तालिमका सहभागी ३५ जनामध्ये १४ जनालाई आवश्यक सामग्री प्रदान गरिने शाखा अधिकृत पदमलाल राईले जानकारी दिए । ३५ जना सहभागीलाई भने प्रमाण पत्र वितरण गरिएको थियो ।

इलामकी दुग्ध व्यवसायी लीलादेवी भट्टराई र प्राविद्यिक अधिकृत दामोदर ढकालले सहजीकरण गरेको तालिममा सहभागीलाई आइसक्रिम, कुल्फी, दही, पनिर, पुष्टकारी, पेडा, बम्बइसन, ललीपप, लस्सीलगायत दूधका परिकार बनाउने तरिका सिकाइएको शाखा प्रमुख राईले बताए ।

छनौटमा परेका १४ जनालाई डेरी स्टल सञ्चालन गर्न ७० हजारभन्दा बढीको सामग्रीहरु डिप फ्रिज, टेबल, कुर्सी, छाता, मिक्स्चर, डे«स, विद्युतीय सामग्री सशर्त प्रदान गर्न लागिएको उनले बताए ।

सहभागीकातर्फबाट निलमणी दाहालले अनुभव प्रस्तुत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, सहजकर्ता भट्टराई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईलगायतले तालिमबाट प्राप्त सीपलाई व्यावसायिकरुपमा प्रयोग गर्न सुझाए ।

त्यस्तै तालिमका उत्कृष्ट पुरुष सहभागी राजन नेपाल र उत्कृष्ट महिला सहभागी निर्मला दुलाललाई मायाको चिनो प्रदान गरिएको कार्यक्रमको सञ्चालन कार्यक्रम शाखाका कर्मचारी खगेन्द्र लिङदेनले गरेका थिए ।