शनिबार हुने खेलमा घरेलु मैदानमा जितका साथ सेमिफाइनल पुग्ने आयोजक टोलीको लक्ष्य रहेको छ। खेल अपराहन्न ३ बजेबाट सुरु हुने आयोजकले जनाएको छ।

काँकडभिट्टा माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा आयोजकलाई पछिल्लो पराजयको बदला लिने अवसर हुनेछ। धरानमा सम्पन्न २१ औँ बुढासुव्वा गोल्डकपको उद्घाटन खेलमा संकटाले काँकडभिट्टामाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो। समय अभावका कारण दुई दिन सञ्चालन भएको खेलमा सडनडेथमा संकटाले जित निश्चित गरेको थियो।

मेचीनगर गोल्डकपको पहिलो प्रि–क्वाटरमा उपाधिको दाबेदारको रुपमा हेरिएको क्यामरुनी टोली दाफिन्समाथि टाइब्रेकरमा सानदार जित निकाल्दै आयोजक काँकडभिट्टा क्वाटरफाइनल पुगेको हो। घरेलु टोली झापाली खेलाडीसहित मैदान उत्रिँदा संकटालाई केही विदेशी खेलाडीको साथ रहनेछ।

संकटा गत महिना काभ्रेमा सम्पन्न प्रथम काभ्रे गोल्डकप जितेर लयमा रहेको छ भने काँकडभिट्टाले जारी सिजनमा कुनै पनि उपाधि आफ्नो पक्षमा पारेको छैन।