काँकडभिट्टा । झापाको काँकडभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज विभागीय टोली नेपाल पुलिस क्लबले भुटानको पारो एफसीको सामना गर्दैछ । खेल काँकडभिट्टा माविको खेलमैदानमा अपराहन्न ४ बजेबाट सुरु हुनेछ ।

मेचीनगर गोल्डकप उपाधि दाबेदारको रुपमा हेरिएको यी दुई टोलीबीचको खेल निक्कै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । जारी प्रतियोगितामा यो दुवै टोलीको पहिलो खेल हो । विजयी हुने टोली सेमिफाइनल प्रवेश गर्नेछ ।

पारो एफसी भुटानको उत्कृष्ट क्लब हो । नेपालमा पछिल्लो पटक पारोले सर्लाहीमा सम्पन्न राजर्षि जनक कप फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यहाँ उसले झापा ११ लाई फराकिलो अन्तरले पराजित गरेर सेमिफाइनल सम्म पुगेको थियो । युवा खेलाडीले भरिएको पुलिस भने जारी सिजनमा सुधारिएको प्रर्दशन गर्दै आएको छ ।

आगामी वैशाख २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले नगद ५ लाख १ हजार रुपैयाँ सहित ट्रफी पाउनेछन् ।