काँकरभिट्टा । नेपाली राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङको गोल मद्दतले यहाँ जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माइभ्याली एफसी इलामलाई मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा १–० गोलअन्तरले पराजित गर्दै अन्तिम सेमिफाइनलमा थ्री स्टारले आर्मीसँगको भेट पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले गोलपोस्टमा आक्रमण गरे पनि स्कोर हुन सकेको थिएन । तर, खेलको ८५औँ मिनेटमा पाएको अवसरलाई सदुपयाग गदैै अनन्तले विपक्षी गोलरक्षक सोजित गुरुङलाई बिट गर्दै निर्णायक गोल गरे ।

खेलको म्यान अफ दी म्याच थ्री स्टारका सुशिल राई घोषित भए । उनले नगद ११ हजार पाए । १० टिम सहभागी गोल्डकपको विजेताले नगद १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पाउनेछ ।

बुधबार पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सिएमजी संकटा क्लबबीच हुनेछ ।