धनकुटा/ शहीद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता यही वैशाख २८ देखि जेठ ४ गतेसम्म हुने भएको छ।
धनकुटाको तल्लो टुँडिखेलमा हुने प्रतियोगिताको १४ औँ संस्करणमा नेपाल पुलिस क्लब काठमाडौं, फ्रेण्ड्स क्लब काठमाडौं, सशस्त्र प्रहरी बल काठमाडौं, आयोजक धनकुटा ११, बिर्तामोड युनाडेड क्लब झापा, विन्दावासिनी फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी र डाउफिन्स क्लब क्यारुन गरी आठ टिम सहभागी हुने गोल्डकप आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।
प्रतियोगिताको विजेता टिमले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट)बाट पुरस्कृत गरिने तथा उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ। प्रतियोगिता सञ्चालनका लागि धनकुटा नगरपालिकाले सात लाख हजार रुपैयाँ अनुदान दिने भएको छ। त्यस्तै प्रायोजक रुस्लान भोड्काबाट तीन लाख रुपैयाँ, टिकट बिक्रीबाट चार लाख रुपैयाँ र अन्य रकम विभिन्न संघसंस्था र व्यक्तिबाट संकलन गरिने संयोजक प्रधानले जानकारी दिए।
नेपाली कांग्रेसका नेता शहीद भीमनारायण श्रेष्ठको नाममा २०५५ शालमा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ। विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन पञ्चायती सरकारले गोली हानी श्रेष्ठको हत्या गरेको थियो। स्व. श्रेष्ठलाई सरकारले करिब चार वर्षअघि मात्रै शहीद घोषणा गरेको थियो।