भोजपुर । भोजपुर सदरमुकाम नजिकैको पोखरे लाइनमा विहिबार दिउँसो भएको आगलागीमा ५२ लाख बढिको क्षति भएको छ ।
स्थानीय बखतबहादुर श्रेष्ठको घरमा डेरामा बस्ने व्यक्तिको कोठाबाट शुरु भएको आगो घरभरि फैलिएको हो ।

आगलागीबाट श्रेष्ठको नगद ५ लाखसँगै, किराना पसल, लत्ता कपडा लगाएका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अमतलाल माझीले बताए । श्रेष्ठको घरमा डेरा गरेर बस्ने अन्य व्यक्ति तथा परिवारको समेत लत्ता कपडा कम्प्यूटर लगायतको सामान जलेको छ ।

घरमा भएको ग्याँस सिलिण्डरहरु विस्फोट हुँदा थप क्षति भएको हो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले झण्डै ३ घण्टामा आगो नियन्त्रण गरेका हुन् । साँगुरो बाटो तथा सडक अवरोध भएका कारण भोजपुर सदरमुकामको दमकल समयमा आउन नपाउँदा क्षति बढेको स्थानीयले बताएका छन् । आगलागी के कारणले भयो भन्ने खुलेको छैन ।