काठमाडौं । भारतले कोसी बाँध खोल्दा नेपालतर्फका ३ सय सर्वसाधारण वेपत्ता भएका छन् ।

कोसी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर एक्कासी पानी छोडदा नेपाल तर्फका झण्डै ९० परिवारका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टा देखि वेपत्ता भएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले जानकारी दिनुभयो ।

साहले भन्नुभयो, ‘वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानीयस्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो ।’

आपत्कालीन बचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले बगाएर लगेको छ । स्थानीयहरुका अनुसार गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर बनाउन प्रयोग गरिने खडहीसहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ ।

यद्यपि यसबारे आधिकारीक तथ्यांक भने नआइसकेको मेयर साहले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘हामी सम्पर्कको प्रयासमा छौ, केही स्थानीयहरुसँग फोनमा कुराकानी भए पनि एक्कासी नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि त्यहाँसम्म पुग्न वा त्यहाँ फसेकाहरुलाई निकाल्न सक्ने काम गाह्रो नै छ ।’

मानवीय रुपमा हताहातको सम्भावना अहिलेसम्म देखिएको छैन, तर अवस्था यस्तै रहियो भने झन् विकराल स्थिती सिर्जना हुने उनले बताए । कोसी नदीमा भारतीयहरुको मनपरी पराकाष्ठा नाघेको मेयर साहको प्रतिक्रिया छ । कोसी सम्झौताअनुसार कोसीमा भारतीयहरुलाई आफू अनुकूल काम गर्ने अधिकार छ ।