काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले यस वर्षको सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गते सुरु गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले लिगको मिति तोक्नुका साथै राष्ट्रिय लिगको अवधारणा पनि अगाडि सारेको छ । ए डिभिजन लिगका शीर्ष ६ र एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टोलीले राष्ट्रिय लिग खेल्ने प्रावधान अगाडि सारिएको हो । एन्फा प्रेसिडेन्ट लिगमा ७ प्रदेशका उत्कृष्ट ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रेसिडेन्ट लिग संचालन गर्नका लागि एन्फाले संयोजक पनि छनोट गरेको छ । प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भिमबहादुर थापा तथा प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग संचालन समिति गठन गरिनेछ । प्रदेश ४ को हकमा भने छिट्टै संयोजक चयन हुने जानकारी दिइएको छ ।

सन् २०१९ जुनमा हुने फिफा कांग्रेसमा नेपालका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पासंगै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामाले प्रतिनिधि रहनेछन् ।

बैठकले जिल्ला लिग संचालन तथा व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई संयोजक मनोनय गरेको छ । क्विक्स कप अन्तरविद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिताका लागि सहायक महासचिव अरुणमान जोशी तथा स्वोर्गीय ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताका लागि राजेन्द्र न्यौपाने संयोजकमा मनोनित भएका छन् । उपमेयर कप अन्तर नगरपालिका फुटबलका लागि महिला फुटबल समितिकी संयोजक पेमा लामा संयोजकमा मनोनित भएकी छिन् ।

कार्यसमितिले ललितपुर जिल्लाको बुद्धिविकास खेल मण्डलको मैदानमा शौचालय र नुहाउने धारासहितको दुइ ड्रेसिङ रुम बनाउने निर्णय गरेको छ । यसैगरी आधिकारिक मैत्रीपूर्ण खेल खेल्न विदेश खेल्न जाँदा प्रदान गरिंदै आएको २० अमेरिकी दैनिक भत्तालाई २५ अमेरिकी डलर पुर्याएइको छ ।

यसैगरी एन्फाले सार्वजनिक सूचना जारी गर्दै विभिन्न तहका लागि कर्मचारीको पनि माग गरेको छ । टेक्निकल डाइरेक्टर, फाइनान्स डाइरेक्टर, रेफ्री डाइरेक्टर, कमर्सियल डाइरेक्टर, मिडिया अफिसर, महिला प्रशासक र होस्टेल वार्डनको पदमा माग गरिएको छ ।