ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा दर्जनौं रमणीय र पर्यटकीय स्थान छन्। तर, तीमध्ये प्रायः प्रचारप्रसारका कारण ओझेलमै छन्।

तीमध्ये सदरमुकामबाट नजिकै रहेको सिद्धिडाँडा पनि एक हो। सदरमुकाम फुङलिङबाट डेढ किलोमिटर दूरीमा मात्र रहे पनि सिद्धिडाँडाको यथेष्ठ प्रचारप्रसार हुन सकेको छैन। सिद्धिडाँडामा रहेको पोखरीबाट अटुट पानी आइरहने पाँच वटा धारा, सँगै शिव मन्दिर र गुम्बा छन्। वरिपरिको सुन्दर अलैंची बगान रहेकाले त्यहाँ पुगेपछि नौलो अनुभूति सँगाल्न सकिन्छ।

‘बजारनजिकैको गाउँले परिवेश, स्वच्छ हावापानी एवं प्राकृतिक सुन्दरता यहाँका आकर्षण हुन्’, स्थानीय छत्र गुरुङले भने, ‘महाबौद्ध ठिसुङ गुम्बा र चण्डेश्वर महादेवधाम एकै ठाउँमा रहेकाले धार्मिक सहिष्णुताको झल्को आउँछ।’

यस क्षेत्रमा प्रवेश गरेलगत्तै दायाँबायाँ पोखरी देख्न सकिन्छ। पोखरीको बीचमा हिमाल आकारको ठूलो ढुंगा छ। ढुंगामाथि पानी निस्कन्छ। ‘कृत्रिम यो दृश्य प्राकृतिक जस्तै लाग्छ’, बिदा मनाउन पाहुना र परिवारसहित पुगेका रोशन लिम्बूले भने, ‘पाहुनालाई छोटो समयमा घुमाउने उपयुक्त स्थान हो यो।’

त्यहाँबाट ५० मिटर उकालो हिँडेपछि मन्दिर र गुम्बा पुगिन्छ। त्यहाँ पनि तीन वटा स-साना पोखरी छन्। छेउछेउमा फूलको बगैंचा। बस्नका लागि फलामे चौतारा बनाइएको छ। यो फुङलिङ नगरपालिका-९ मा अवस्थित यस ठाउँमा गुरुङ समुदायको बाक्लो बस्ती रहेको छ। यहाँ पुग्न फुङलिङ बजारबाट गाडीमा १५ मिनेट र पैदल आधा घण्टा समय लाग्छ।

स्थानीयले मन्दिर र पोखरी वरिपरि काँडेतार लगाएका छन्। जसका लागि तत्कालीन सांसद सञ्चपाल मादेनले पाँच लाख र गाविसबाट एक लाख रुपैयाँ सहयोग गरेको मन्दिर संरक्षण समितिको सदस्यसमेत रहेका गुरुङले बताए।

यहाँसम्म पहिरो छिचोल्दै कच्ची सडक पुगेको छ। तर, पहिरो बगिरहने हुँदा गाडी नियमित सञ्चालन हुन सक्दैन। सवारी सधानको नियमित पहुँच नहुँदा र पर्याप्त प्रचारप्रसार नहुँदा पर्यटकीय सम्भावना भए पनि सिद्धिडाँडा ओझेलेमा परेको गुरुङ बताउँछन्। उनको सक्रियतामा संरक्षण समिति गठन गरेर स्थानीयले पोखरी र मन्दिरको संरक्षण गरिरहेका छन्। तर बजेटको अभावमा काम गर्न नसकेको उनले बताए।

कञ्चनजंघा र पाथीभराको भ्रमण गर्न आउने पर्यटकलाई सदरमुकाममा एक दिन भुलाउने उद्देश्यसहित यो क्षेत्रलाई विकास गर्ने योजना रहेको वडाध्यक्ष तारानाथ बरालले बताए। नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यसलाई समेटेको छ। ‘सिद्धिडाँडा हुँदै सुकेटार विमानस्थल जाने सडक निर्माण गर्ने र यो क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरिने हाम्रो योजना छ’, बरालले भने, ‘यसको तत्काल सम्भाव्यता अध्ययन गरेर काम थाल्छौं।’