झापा । नेपाल प्रहरीले १ हजार ७६८.२५ ग्राम सुन (पौने दुई किलोभन्दा बढी) र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरी उपत्यका अपराध अनुसन्धान कार्यालयले यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरूमा झापा बिर्तामोडका दुई जनासहित सात जना रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल र सोही स्थानका २२ वर्षीय भरतराज खरेल रहेका छन् । यस्तै, दार्चुलाका ४७ वर्षीय गणेशदत्त बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमल विभूती, सोही स्थानका १८ वर्षीय प्रकाश विभूती, गणेशसतिस बाल्टे र दार्चुलाका २१ वर्षीय आयुष बडू रहेको डिएसपी सुरक्षा केसीले बताइन् ।
उनले भनिन्, ‘काठमाडौँ मनपा वडा नम्बर २४ दुच्छेनली टोलमा केही व्यक्तिहरूले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपछि यस कार्यालयबाट खटिएको टोलीले खोजी गर्दै जाँदा ७ जना व्यक्तिहरूलाई नगद र सुनसहित पक्राउ गरिएको हो ।’
बिहीबार न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।