झापा । अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाले ज्येष्ठ नागरिकका लागि आज मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

वडा कार्यालयमा आयोजित शिविरमा नगर प्रमुख हरिकुमार रानाले रगत परीक्षण गरेर प्रयोगशाला र रक्तचाप (ब्लड प्रेसर) जँचाएर शिविरको उद्घाटन गरे । वडाको वार्षिक कार्यक्रमअनुसार एक लाख रुपैयाँको बजेटमा स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष नविन ढुंगानाले जानकारी दिए ।

उनका अनुसार आयुर्वेद औषधालय र अर्जुनधारा स्वास्थ्य चौकीलाई ५०–५० हजार बजेट विनियोजन गरी शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविरबाट कम्तिमा १५० जना बृद्धबृद्धाले लाभ लिने अपेक्षा गरिएको वडाध्यक्ष ढुंगानाले बताए । ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिने पनि उनले जानकारी दिए ।

वडा कार्यालयका सचिव प्रकाश पौडेलका अनुसार स्वास्थ्य चौकीका एचए अनुषा कार्की, सिनियर अहेवद्वय दुर्गा भट्टराई, बाबुराम निरौैला, अहेव रामबहादुर शाह, सिनियर अनमी मञ्जु बाँस्तोला, अनमी सुमित्रा राई, ल्याव असिस्टेन्ट दीपा श्रेष्ठ, कविता चौधरी र आयुर्वेद औषधालय अर्जुनधाराका तर्फबाट वैद्य सुमन तिम्सिना र कविराज राम सुशिल यादवले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

बिहान १०ः३० बजेदेखि सुरु स्वास्थ्य शिविर दिउँसो ३ बजेसम्म चल्ने वडाध्यक्ष ढुंगानाले बताए । वडा कार्यालयमा अहिले सेवाग्राहीको भीड लागेको छ ।