झापा । अर्जुनधारा नगरपालिकाका विपन्न किसानलाई नगरका पशुपंक्षी विकास शाखाले बिहीबार च्याप कटर (घाँस काट्ने मेसिन) वितरण गरेको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा ८ जना किसानलाई उक्त मेसिन प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख रानाले नगरको नीतिअनुरुप पशुपक्षी विकास शाखाले कार्यान्वयन गरेको बताए । यसअघि प्रदान गरिँदै आएको अनुदानको नीतिलाई जनप्रतिनिधिले गरेको अध्ययनपछि क्रमिकरुपमा घटाउँदै लैजाने पनि उनले बताए ।

अनुदानले किसानलाई अल्छे बनाएको भन्दै डिलमा बस्ने तर खेतमा नपस्ने किसानको प्रवृत्ति परिवर्तन गर्न पनि नगरले यस्तो रणनीति अपनाएको उनको भनाइ थियो । अहिले पनि कागजी खेती गर्ने किसानको संख्या अधिक बढेको भन्दै उनले वास्तविक किसानको पहिचान गरेर मेसिन वितरण गरिएको उनको दाबी थियो ।

अब कृषकलाई अनुदानभन्दा पनि सुत्केरी गाईलाई आवश्यक पोषणतत्व वितरण गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए । २ नम्बर वडालाई पशु पकेट क्षेत्र घोषित गरी कार्यान्यवन गरिएकाले दुग्ध उत्पादन र बाख्रापालनमा नगरले जोड दिएको पनि उनले बताए ।

कार्यक्रममा बोल्दै ९ नम्बर वडाध्यक्ष पुष्प प्रसाईले किसानका माग धेरै भएकाले व्यवस्थापन गर्न गाह्रो भएको सुनाए । सीमित बजेटबाट कार्यक्रम व्यापक गर्नुपर्ने बाध्यता भएको सुनाउँदै उनले एक व्यक्तिले सबै सुविधा लिन खोज्ने अर्को समस्या चिर्दै अघि बढ्नुपर्ने अवस्था वडाले व्यहोरेको बताए ।

नेकपा नगर अध्यक्ष प्रेमसागर सापकोटाले नगरको सानो सहयोगले किसानको अवस्थामा सुधार आउने कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिए । नगरबाट उपलब्ध मेसिनले एउटा गाई पाल्ने किसानले ३ वटा पाल्न सक्नुपर्ने भन्दै किसान त्यसतर्फ अघि बढ्नुपर्ने सुझाव दिए ।

वार्षिक कार्यक्रमअनुसार मेसिनका लागि आवेदन परेकामध्ये घर घरै गएर अनुगमन गरेर वास्तविक किसानको पहिचान गरेर मेसिन वितरण गरिएको शाखा प्रमुख पदमलाल राईले बताए । अहिले १–१ जना किसानलाई वितरण गरिए पनि अब पकेट प्याकेजका आधारमा शाखाले काम गर्ने पनि प्रमुख राईले बताए ।

मेसिन पाउने विपन्न किसानमा रश्मीरेखा मिश्र, कुमारी तामाङ, धनपति सुवेदी, नयननन्द पौडेल, सीता कँडेल, मानबहादुर सार्की, टंकमाया दाहाल र सोमप्रसाद एक्तेन रहेका छन् । नगरको एक लाख रुपैयाँको बजेटमा किसानलाई मेसिन वितरण गरिएको हो ।

शाखाकी अधिकृत सावित्राकुमारी दाहालले स्वागत गरेको कार्यक्रममा नगरका बोर्ड सदस्य लक्ष्मी तामाङ, हरिमाया दाहाल, दिलमाया दास, रमेश त्रिखत्रीलगायतको उपस्थिति रहेको थियो ।