कुमार भट्टराई युवा पुस्ताका सशक्त साहित्यकार हुन् । उनी अर्जुनधारालाई कर्मथलो बनाएर साहित्यसँगै पत्रकारिता पेशामा क्रियाशील रहेका छन् । यसअघि उनले ‘नसमेटिएका पाइलाहरु’ र ‘बकाइनो’ नामक दुई कथा संग्रह, ‘धनबहादुर र म’ नामको उपन्यास, ‘कृष्ण’ नामको सूत्रकाव्य र ‘मेरो’ नामको कविता संग्रह पाठकमाझ छरिसकेका छन् । ती कृतिहरुमध्ये ‘कृष्ण’ सूत्रकाव्य पछिल्लो पटकको चर्चित पुस्तक हो ।

हाल उनी मेरो रेडियोको प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भएर काम गरिरहेको बेला सुटुक्कै ३३६ पेजको अश्वत्थामा उपन्यास कोरेका छन् । साहित्यमा उनको नाम यही उपन्यासले अधिराज्यभरि कहलाउने देखिएको हुँदा सशक्त युवा साहित्यकार कुमार भट्टराईसँग छैटौं कृति अश्वत्थामाका विषयलाई लिएर यलम्वर टाइम्स डटकमले केही प्रश्न गरेको छ ।

पत्रकारितामा खट्ने मान्छे कुन बेला तपाई साहित्यमा घोत्लिनु हुन्छ ?

साहित्य र पत्रकारिता बेग्लै विषय होइनन् । यी दुबै एउटै हुन् । खाली पत्रकारितामा भावना पक्ष समेटिएको हुँदैन, साहित्यमा हुन्छ । पत्रकारितामा व्यक्तिगत विचारहरु गौण हुन्छन्, साहित्यमा त्यसलाई पनि प्रयोग गर्न पाइन्छ । त्यसैले जे कुरा पत्रकारिता गरिरहँदा समेट्न सकिंदैन, त्यसैलाई साहित्यभित्र समेट्ने प्रयास गरिरहँदा साहित्य बन्दै गएका मात्र हुन् ।

पहिलो कृति र अहिले प्रकाशित कृतिमा के फरक महसुस गर्नुभएको छ ?

पहिलो कृतिभित्र कथाहरु छन् । कथा छोटा छन्, तर धेरैले रुचाइएका कथा छन् । जसमा ‘रावण’ र ‘प्रभुहरुको देश’ सबैभन्दा बढी मन पराइए । अन्य कथा प्रयोगवादी पनि छन् । तर अश्वत्थामा उपन्यास भने मिथक प्रयोग गरिएर लेखिएको हो । त्यसैले पहिलो कृति लेख्दा त्यति डर थिएन, तर यस कृतिले धेरै मान्यताहरु भत्काउने भएकाले धेरैको आक्रमण सहनु पर्छ भनेर तयारी गरिरहेको छु ।

यसअघि प्रकाशित कृतिले साहित्य क्षेत्रमा स्थापित गर्न सफल भए त ?

अवश्य । पुस्तक प्रकाशित हुनु भनेको सन्तान जन्मिनु पनि हो । सन्तान जन्माउने मात्र होइन, उनीहरु समाजोपयोगी पनि हुनसक्नु पर्छ । कृति पनि त्यस्तै हुन् । मेरो कृष्ण सूत्रकाव्यका बारेमा गरिमाको एउटा अंकमा आदरणीय इन्द्रबहादुर राईले टिप्पणी गर्नुभएको छ । त्यहाँ उहाले लेख्नु भएको छ- मैले ‘खेलौं बाँच्ने खेल’ लेखें । त्यो भन्दा अघि गएर कुमार भट्टराईले ‘खेलौं जीवन बाँच्ने खेल’ लेख्नु भएको छ । उहाँले नै त्यति गम्भीररुपमा टिप्पणी गरेपछि कृतिले मलाई स्थापित गर्न सफल भएको छ भन्ने लागेको छ ।

अघितपाईले एउटा कुरा उठाउनु भयो, अश्वत्थामाले कस्ता मान्यताहरु भत्काउँछ त ?

हाम्रो सोचहरु एउटा ‘फर्मेट’मा स्थापित भइसकेका छन् । त्यसका विपरीत कुराहरु धेरैलाई पचाउन गाह्रो पर्छ । जसलाई ती मान्यताहरु सही लागेका छैनन्, उनीहरु बोल्न समेत डराउँछन् । किनकि ती कुराहरु धर्ममाथि, आस्थामाथिको आक्रमण हुन्छ भन्ने लागेर । यस कृतिभित्र हाम्रा धर्मग्रन्थहरु, वर्तमान सामाजिक परिवेश, राजनीतिक माहौल र हरेक व्यक्तिको दैनिकी अध्ययन गरेर स्थापित महाभारतकालीन ग्रन्थका पात्रहरुलाई यथाअवस्थामा पात्र अश्वत्थामाले विनिर्माण गरेको छन् । हिजो देउता जस्ता लागेकाहरु कृतिभित्र फेरिएका छन् ।

अश्वत्थामा कृतिले नेपाली समाजलाई दिन चाहेको सन्देश के हो ?

यो कृतिले बहुआयामिक विषय उठान गरेको छ । अहिलेको हाम्रो पुस्ताले नेपाली राजनीतिभित्र भोगेको असहजतालाई महाभारतकालीन अवस्थासँग समानुभूति गर्न सक्ने थुप्रै आधारहरु छन् । पात्र र चरित्रहरु पनि जस्ताको जस्तै स्थापित भएका हुन् नाम फेरेर जस्तो लाग्छ । अहिले राजनीतिक मुद्दामा उठेका ब्राह्मणवाद, पितृसत्ता-मातृसत्ता बीचको अन्तद्र्वन्द्व, पेटकै लागि पारिवारिक वियोगका कथाहरु, सत्ताप्रतिको खिचातानी, विषयभन्दा फरकका आग्रह-पूर्वाग्रहरु, शक्तिशाली व्यक्तिहरुको अदृश्य व्यक्तिद्वारा हत्याका कारणहरु, युद्धका अदृश्य सूत्राधारहरु, युद्धका समीक्षाहरु, थुप्रै विषयहरुलाई समीक्षा गर्ने मौका कृतिले दिनेछ ।

कृति लेख्न कति समय लाग्यो ?

कृतिले व्यक्त गर्न खोजेको विषय त महाभारत बुझ्न थालेपछि नै हो । तर जब दुर्योधन पात्र बुझे, उनको पीडा समानुभूत भएको थियो । त्यस सम्बन्धी अध्ययन गर्न झण्डै दश बर्षजति लाग्यो । तर लेख्ने आँट आएको थिएन । राजनीतिकर्मी राधाकृष्ण मैनालीको ‘नलेखिएको इतिहास’कृति पढेपछि आँखा खुले जस्तो भयो । त्यसपछि गत बर्ष तीन महिना गुप्तबास बसेर पाण्डुलिपीको पहिलो खेस्रा संग्रहित गरिसिध्याएँ ।

कृतिभित्रबाट भन्नु पर्दा तपाईलाई सबैभन्दा बढी छोएको विषय के हो ?

अश्वत्थामाले भोगेको इतिहास मलाई सबैभन्दा बढी पीडादायी लागेको छ । एउटा विपन्न परिवारको सक्षम व्यक्ति आफूभन्दा सम्पन्न र शक्तिशालीको छायाँले कसरी ओझेलमा पर्नुपर्छ भन्ने विषय मेरो खोजको मूख्य विषय हो । शक्तिशाली पाखुरा र राजनीतिकर्मीहरुबाट समाजमा बौद्धिकताले कसरी प्रताडित हुनुपर्छ भन्ने विषय गम्भीर छ ।

कृति बजारमा आइरहँदा आमपाठकहरुलाई के भन्न चाहानु हुन्छ ?

कृति मेरो नाममा भए पनि त्यो ‘अश्वत्थामा’ले भोगेको इतिहास भएकाले पाठकहरुले गम्भीर रुपमा अध्ययन गरेर रचनात्मक प्रतिक्रिया दिनुहुन्छ भन्ने आशा गरेको छु । जसले भावी दिनमा मलाई अझ सशक्त लेखनमा अभिप्रेरित गर्नेछ । प्रकाशनको जिम्मा सांग्रिला बुक्स तथा मणि शर्माले लिएर मलाई धन्य तुल्याइ दिनुभएकोमा प्रकाशकलाई धन्यवाद व्यक्त गर्दछु ।