बिर्तामोड । झापाको मेचीनगर १४ स्थित दुहागढीमा रहेको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

 

 

मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगो लागेको प्रहरीको आशंका छ । आफूहरु बिहानैदेखि आगलागी नियन्त्रणमा लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

 

भद्रपुर, बिर्तामोड लगायतका पालिकाका दमकलले आगो निभाउने प्रयास गर्दैछन् । बिग्रिएर थन्किएका कारण मेचीनगरको दमकल भने छैन । आगो निभाउन इलाम, मोरङ र सुनसरीबाट पनि दमकल आएको प्रहरीले जनाएको छ ।

 

भर्खरै आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका १२ वटा दमकल सक्रिय छन् । तर, आगो नियन्त्रणमा आइसकेको छैन । आगो निभाउन नेपाली सेनासँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलका कर्मचारी खटिएका छन् । स्थानीयबासीले पनि आगो निभाउन सघाइरहेका नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले जानकारी दिए ।

 

आगलागीबाट के-कति क्षति भयो विस्तृत विवरण आउन बाँकी छ । काँकरभिट्टाको एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको हो ।