एजेन्सी- ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को समूह ‘बी’ मा कोलोम्बियाले लगातार तेस्रो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

समूहको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै कोलोम्बियाले शीर्षस्थान पक्का गरेको हो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । उनले ३१ औं मिनेटमा सान्टियागो आरियासको पासलाई सदुपयोग गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे । यस पराजयसँगै पाराग्वे भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

अर्को खेलमा अर्जेन्टिनाले कतारलाई २-० ले पराजित गर्दै समूह उपविजेताको रुपमा दोस्रो स्थान पक्का गर्यो । खेलको चौथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो ।

कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दो अर्जेन्टिनाको जित पक्का गरे ।

समूह ‘बी’ मा कोलोम्बियाले ३ खेलमा ३ जितसहित ९ अंक जोड्दा अर्जेन्टिनाले ३ खेलमा १ जित, १-१ हार र १ बराबरीसँगै ४ अंक जोड्यो । कोलोम्बियाले पहिलो खेलमा अर्जेन्टिनालाई २-० ले पराजित गरेको थियो । पाराग्वेले ३ खेलमा २ तथा कतारले १ अंक जोडेको छ । अन्य समूहको खेल सकिएपछि पाराग्वे उत्कृष्ट दुइ तेस्रो टोलीमा परेर दोस्रो चरणमा पुग्ने सम्भावना कायम छ ।