सुम्निमा चाम्लिङ,
इटहरी- इटहरीकी शान्ता राईले वर्षा कार्कीलाई ६५ लाख रुपैयाँ सापटी दिएकी थिइन् तर धेरै समयसम्म कार्कीले पैसा फर्काउन सकेकी थिइनन् । ०७५ असार ३१ मा भने उनले ५६ लाखको चेक काटेर राईलाई दिएकी थिइन् ।उक्त चेकमा हिमालय बैंक लिमिटेड शाखा कार्यालय इटहरी रमेशकुमार कार्की उल्लेख गरिएको थियो । चेक साट्न बैंक पुग्दा खातामा पैसा नभएको पाइन् । राईले ब्युटी पार्लर सञ्चालन गर्दै आएकी थिइन् । पार्लर सिक्ने क्रममा उनको कार्कीसँग चिनजान भएको थियो । कार्कीले राईको पार्लरमा काम पनि गर्दै आएकी थिइन् ।आफ्नो श्रीमान् कोरियामा रहेको बताउने कार्की घर व्यवहारको कुरासमेत सुनाउने गर्थिन् । राई र कार्कीबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो । यद्यपि पछिल्लो समय भने कार्कीले चेकमार्फत झुक्याएका कारण राईले उजुरी दिएकी थिइन् । हाल इलाका प्रहरी कार्यालय इटहरीले वर्षालाई पक्राउ गरी चेक बाउन्सको आरोपमा अनुसन्धान थालेको छ ।

यस्तै, चितवनका अल्विन चौधरी र तीर्थबाबु परियार इटहरीमा बस्दै आएका थिए । उनीहरू गाउँका छिमेकी हुन् । तीर्थ कक्षा १० सम्मका विद्यार्थीलाई ट्युसन पढाउँथे । अल्विन भने चाँदीका ब्रास्लेट बनाएर घर-घरमा गई बेच्ने गर्दथे । छिमेकी भएको नातालेअप्ठ्यारो पर्दा दुवैबीच आर्थिक लेनदेन पनि हुने गरेको थियो । अन्तिम पटक चौधरीले २ लाख १५ हजार ५ सय रुपैयाँ तीर्थलाई सापटी दिएका थिए । यद्यपि उनले समयमा पैसा पाएनन् । उल्टै तीर्थले ०७५ भदौ २९ गते मेगा बैंक नेपाल लिमिटेड इटहरी शाखाको चेक दिएरचौधरीलाई फसाए ।हाल धरौटीमा पैसा तिरेर तीर्थ छुटिसकेका छन् । शान्ता र अरविन्द बाउन्स चेकको मारमा पर्ने प्रतिनिधि पात्र हुन् । पछिल्लो समय वित्तीय अपराध इटहरीमा बढ्दो क्रममा छ । चेक बाउन्स भन्नाले भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु हो ।खातावालाले कसैलाई चेकमार्फत भुक्तानी दिँदा खातावालाको खातामा पर्याप्त रकम नभएमा वा चेकमा हस्ताक्षर नमिलेमा चेक बाउन्स हुने गर्छ । तीन पटकसम्म पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले प्रहरीमाउजुरी गर्न सक्छन् ।

इलाका प्रहरी कार्यालय इटहरीको तथ्यांकअनुसार आव ०७५/७६ को साउन १ देखि जेठ ३२ सम्म चेक बाउन्ससम्बन्धी २० वटा मुद्दा दर्ता भएको थियो । जसमध्ये बैंकिङ कसुरअन्तर्गत ९ पुरुष र २ महिला पक्राउ परिसकेका छन् । ९ जना भने फरार छन् ।दर्ता भएको चेक बाउन्समार्फत १ करोड ३० लाख रुपैयाँ ठगी भएको उजुरी परेको छ । इलाका प्रहरी इटहरीका निरीक्षक बुद्धि चौलागाईंका अनुसार जग्गा कारोबारी र आर्थिक लेनदेनबीचको कारोबारका चेक बढीबाउन्स हुने गरेको छ ।’नियतवश र लेनदेन मिलाउन नसक्दा चेक बाउन्स हुने गरेको पाइएको छ’, चौलागाईंले भने, ‘साना तथा ठूला चेक बाउन्सका उजुरी आउने गरेको छ ।’ चेक बाउन्स भएको प्रमाणसहित आएमा सिधै मुद्दा दर्ता गरिने उनले बताए ।नेपाल बैंक इटहरी शाखामा वार्षिक ५ देखि ७ वटासम्म चेक बाउन्सका घटना हुने गरेको तथ्यांक छ । डेढ लाखदेखि ४ लाख रुपैयाँसम्मका चेक बाउन्स हुने गरेको शाखा प्रमुख अशोक कार्कीले बताए ।’चेक बाउन्सका घटना कम गर्न जनतालाई सचेत गराउन सक्नुपर्छ’, कार्कीले भने, ‘सरकारी तवरबाट समेत कडा गर्न सके घटना कम हुने थियो ।’ नेपाल वाणिज्य बैंक इटहरी शाखाको तथ्यांकअनुसार ६ महिनामा एक दर्जन चेक बाउन्सका घटना हुने गरेको पाइएको छ । शाखामा १ देखि १० लाख रुपैयाँसम्मका चेक बाउन्स हुने गरेको निमित्त प्रमुख भरत पोखरेलले बताए । आजको कान्तिपुरमा खबर छ ।