झापा । आज (बुधबार) बिहान इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा मारुती भ्यान पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान आफैँ अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो ।
घटनास्थलमा एक जना तत्काल नाम, थर, वतन नखुलेका अन्दाजी २४-२५ का पुरुष मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जबेगुका अनुसार अनुसन्धानपछि मृतकको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा देउमाई नगरपालिका ६ का अन्दाजी २५ वर्षीय दिपेश राई रहेका छन् । उनी भ्यान चालक भएको प्रहरीले जनाएको छ । यस्तै, सोही भेनमा सवार इलाम ५ का विश्वास राई घाइते भएका छन् ।
गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोड ल्याइएको छ ।