मेचीनगर । झापाको मेचीनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले मानव बेचबिखनका लागि बनेको कानुन प्रभावकारीरुपमा कार्यान्वयन भएको बताएका छन् । उनीहरुले सजाय कमजोर भएकै कारण धेरै मुद्दा कमजोर बन्ने गरेको र पीडकले उन्मुक्ति पाउने गरेको विचार राखे ।

लामो समयदेखि मानव तथा चेलिबेटी बेचबिखनविरुद्घ काम गदै आएको गैरसरकारी संस्था माइती नेपालले आयोजना गरेको मानव बेचबेखिन ओसारपसारविरुद्घ कानुन कार्यान्वयन निकाय र सरोकारवालाहरुसँगको एकदिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारको हैसियतले प्रदेश र संघीय सरकारसँग आवश्यक छलफल गरी आगामी दिनको योजना बनाउने बताइन् । उनले ठोस कानुन बनाएर कार्यान्वयनमा जाने हो भने यस्ता घटना क्रमस कमी हुने दाबी व्यक्त गरिन् । अब हरेकले यहाँ व्यक्तिको होइन विधिको शासन पालना गर्नुपर्ने भन्दैं उपप्रमुख उप्रेतीले हरेक महिलाले आरक्षण होइन प्रतिस्पर्धा खोज्नुपर्ने बताइन् । देश संघीयतामा प्रवेश गरिसकेको भन्दैं उहाँले अब यो मुलुकका तीन वटै सरकारले यसका लागि ठोस कानुन निर्माण गरी कार्यान्वयनतर्फ लाग्नुपर्ने बताइन् ।

झापा जिल्लाका महान्यायाधिवक्ता केशवप्रसाद पन्तले चेलिबेटी तथा मानव बेचबिखनजस्ता आपराधिक घटनामा पीडितले समयमै नबोल्ने गरेका कारण पीडकले उन्मुक्ति पाउने गरेको विचार राखेका थिए । उनले विगत वर्षमा यस प्रकृतिका ३० वटा मुद्दा दर्ता भएको बताए । यस्ता घटनामा कमी ल्याउन चेतनामुलक कार्यक्रम नै अघि सार्नुपर्ने र उनीहरुलाई चेतना, शिक्षा, रोजगारलगायतको अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । अब हरेक स्थानीय तहमा जनप्रतिनिधिहरुको उपस्थिति भइसकेकाले हरेक टोल टोल, गाउँ गाउँमा जनप्रतिनिधिहरु चेतनामुलक कार्यक्रम लिएर पुग्नुपर्नेमा उनको जोड थियो । स्थानीय सरकार आफैँ सार्वभौम भएकाले अब भाषणमात्र नभएर काममा लाग्नुपर्ने उनको आग्रह थियो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले सरकार शान्ति सुरक्षा, अमनचयन कायम गर्न र अपराध नियन्त्रण गर्न सक्रिय रहेको दाबी गरे । खासगरी नेपालको गृह प्रशासन लागुऔषध, मानव बेचबिखनसहित अन्य आपराधिक गतिविधि रोक्न तयार रहेको उनको भनाइ थियो । उनले श्रम शोषण, यौनजन्य क्रियाकलाप तथा मानव अंग प्रत्यारोपणका लागि मानव बेचबिखन हुने गरेको जानकारी गराए । कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले आपारधिक गतिविधि रोक्न नेपाल प्रहरीको पूर्ण साथ सहयोग रहने बताए ।

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले संस्थाको विगत, वर्तमान भावी योजनालगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन माइती नेपालका कर्मचारी हेमन्ता बुढाथोकीले गरेकी थिइन् ।