झापा । झापाका दुई अलग अलग स्थानमा पानीमा डुवेर शुक्रबार २ जनाको मृत्यु भएको छ । मेचिनगर १३ स्थीत भित्री सडकको खाल्टोको पानीमा डुवेको अवस्थामा युवकको शव फेला परेको छ भने गौरीगञ्जमा गेउरिया खोलामा डुबेर अर्का एक बालकको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका १३ स्थित सिमसार क्षेत्रमा चाराली चन्द्रगढी भित्री सडक किनारमा अन्दाजी ३५ वर्षका अपरिचित युवकको शव फेला परेको हो । स्थानीय सडक पेटीको नालामा स्थानीयबासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको शुक्रबार रातिसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको इलाका प्रहरी कार्यलय धुलाबारीले जनाएको छ ।
यता, भारत फुलबरीया घर भई गौरीगञ्ज गाउँपालिका वडा नम्वर ६ तिनटोलीया मामा घरमा बस्दै आएका ६ वर्षीय बालकको स्थानीय गेउरिया खोलामा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार बिष्णु महतोका छोरा आकाशको गेउरिया खोलामा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबेको स्थानीयले देखेलगत्तै बालकको उद्दार भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर अवस्थाका बालकको उपचारका लागि दमकको लाइफ लाइन अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।