बिर्तामोड । पूर्वको सेवाग्राहीलाई मध्यनजर गर्दै झापाको बिएण्डसी टिचिङ हस्पिटलले भदौ १ गतेदेखि सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको सेवा दिने भएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमका लागि बिएण्डसीले स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरिसकेको छ । बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाई र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेश पोख्रेलबीच गएको साउन १२ गते सम्झौता भइसकेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

हस्पिटलका कार्यकारी निर्देश प्रसाईले सुदूर पूर्वका बिरामी धरान, विराटनगर गएर सेवा लिँदा आर्थिक समस्यामा पर्ने गरेकाले पनि बिएण्डसीले सामाजिक उत्तरदायित्व बोध गरेर स्वास्थ्य बिमाको सेवा दिने निश्कर्ष निकालेको बताए ।

५ वर्षका लागि गरिएको सम्झौतामा सरकारले तोकेबमोजिमको सम्पूर्ण उपचार बिएण्डसीमै हुने भएको छ । सरकारले तोकेको ११ सयभन्दा बढी औषधि पनि अब बिएण्डसीमै उपलब्ध हुने उनको दाबी छ । बिरामीले चाँडो उपचार पाउन सकून् भनेर स्वास्थ्य बिमाको कार्यक्रममा सहभागी भएको उनको भनाइ थियो ।

सरकारले गरिब जनताले सहजरुपमा स्वास्थ्य सेवा लिन सकून् भनेर स्वास्थ्य बिमा ल्याएकाले बिएण्डसीमा कुने भेद, विभेद विना नै स्वास्थ्य सेवा दिइने बताइएको छ । उनले भने, ‘प्रविधि र जनशक्ति एउटै भएकाले विभेद गर्ने प्रसंग नै आउँदैन ।’ एउटै छानामुनि उपचार हुने भएकाले पनि स्वास्थ्य बिमाको सिफारिस भएका बिरामीलाई विभेद हुनै नसक्ने उनले दाबी गरे ।

बिएण्डसीले स्वास्थ्य बिमाको सेवा सुरु गरेपछि सघन उपचारका लागि धरान र विराटनगर धाउनुपर्ने बाध्यता हटेको बताइन्छ । बिएण्डसीले स्तरीय प्रविधिबाट एमआरआई र सिटी स्क्यान पनि स्वास्थ्य बिमा कार्यक्रमबाटै सेवा दिने भएको छ ।

हस्पिटलका प्रिन्सिपल प्राडा. रामप्रसाद उप्रेतीले स्वास्थ्य बिमाको सेवा उपलब्ध बिएण्डसीले उपलब्ध गराउने भएकोमा खुसी व्यक्त गरे । उनले नाफा लिने उद्देश्यले यो सेवा सुरु गर्न लागेको नभइ निरोगी बनाउने अभियानमा बिएण्डसीको साथ छ भन्ने सन्देश दिन खोजिएको बताए ।